फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै पर्वत प्रहरी



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कर्तब्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेपनि १७ बर्ष देखि फरार सुचीमा रहेकी श्यामला क्षेत्रीलाई पर्वत प्रहरीले असोज १४ गते कुस्माबाट पक्राउ गर्‍यो ।

पर्वत जिल्लाको फलेबास नगरपालिकाकी ५० बर्षिया क्षेत्रीलाई कुस्माबजारमा लुकिछपि बसेको अबस्थामा प्रहरीले पक्रेको हो ।
सर्वोच्च अदालतले २०६० सालमा नै दोषी ठहर गरेपनि पक्राउ पर्न नसकेकी क्षेत्रीले २ बर्ष ५ महिना ५ दिन सजाय भुक्तान गर्न बाँकी भएपनि पक्राउ परेकी थिइनन । सवारी ज्यान मुद्दामा अदालतबाट २०६७ सालामा दोषी ठहर भएका मोदी गाउँपालिका ६ तिलहारका ३५ बर्षिय दिपेन्द्र सुनार पनि १० बर्षपछि पक्राउ परे । पर्वत जिल्ला अदालतबाट १ बर्ष ११ महिना २ दिन सजाय पाएका सुनारलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको छ ।

अदालतबाट दोषी ठहर भएपनि लुकिछिपी बस्दै आएका क्षेत्री र सुनार जस्तै जस्तै लामो समय देखि फरार रहेका प्रतिबादीहरुलाई पर्वत प्रहरीले पक्राउ गर्न थालेको छ । पर्वत प्रहरीले दुई हप्ताको अवधीमा १८ जना फरार रहेका प्रतिबादीहरुलाई पक्राउ सकेको छ । बैकिङ्ग कसुरमा उच्च अदालत तुलसीपुर, मुकाम बुटवलबाट ब २०७६ बैषाख ८ मा गरेको फैसलाबाट दोषी ठहर भएका पर्वतको जलजला गाउँपालिका वडा नं २ का ३० बर्षिय कृष्णबहादुर कार्कीलाई पनि उनै घरबाट पक्राउ गरेको छ । बुटवलबाट घरमा आई लुकिछिपी बसेको अबस्थामा कार्कीलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्दा शाखाका प्रमुख प्रहरी नायब निरीक्षक मोहन खड्काका अनुसार जुवा मुद्दामा सजाय पाएर फरार सुचीमा रहेका ६ जना पक्राउ परेका छन भने कर्तब्य ज्यान मुद्दामा फरार सुचीमा रहेका २ जना पक्राउ परेका छन् । लागु औषध, बैकिङ्ग कसृुर, भ्रष्टचार मुद्दा, सवारी ज्यान र केही सार्वजनिक मुद्दाका १–१ जना, झुटो बिबरण पेश गरि नागरिकता लिएका २ जना तथा जालसाज मुद्दाका ३ जना प्रतिबादीहरु पक्राउ परिसकेका छन ।

पर्वत प्रहरीले यस अवधीमा पक्राउ गरेका फरार प्रतिबादीहरुबाट ५ बर्ष ३ महिना २ दिन कैद र ११ लाख ४८ हजार १ सय जरिवाना असुल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताउनुभयो ।

अदालतबाट दोषी ठहर भएपनि समाजमा लुकीछिपी बस्ने फरार प्रतिबादीहरु पक्राउ नपर्दा समाजमा अपराधका घटनाहरुले प्रोत्साहन पाउँदै आएका छन । साजय पाएका ब्यक्तिहरु खुल्ला हिड्दा निरपराध मानिसहरुको मनोवल समेत खस्कने गरेको छ। पर्वत जिल्लामा फरार प्रतिबादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको र यसमा सफलता मिल्दै गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्