स्वास्थ्य सुरक्षा अपनाउँदै पाहुनाको स्वागतमा जुट्यो नगरकोट



पुष्कर बुढाथोकी, भक्तपुर ।

स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै नगरकोटका होटल पाहुनाको स्वागतमा जुटेका छन् । होटलमा बस्न आउने पाहुनालाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन हरेक होटलले मुख्य प्रवेशद्धारमा नै सेनिटाइजरको व्यवस्था गरेका छन् ।

नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले पर्यटकको शरिरको तापक्रम हेरेर रिसेप्सनमा मास्क र पञ्जा लगाउन दिने व्यवस्था गरिएको बताउनुभयो ।

हरेक कोठालाई पाहुना गएपछि सरसफाई, सेनिटाइजेशन गर्ने र आउने पाहुनालाई बस्न योग्य बनाउने कार्य समेत प्रायः होटलहरुले गरेका छन् । कर्मचारीहरुलाई पूर्ण रुपमा स्वास्थ्य सुरक्षा सामग्री लगाएर पाहुनाको सेवामा सर्मपित हुन व्यवस्थापन पक्षले निर्देशन जारी गरेको समितिले जनाएको छ ।

होटल व्यवस्थापनले स्वदेशी पाहुनालाई आर्कषित गर्न आफुखुसी न्यूनतम १०देखि २० प्रतिशतसम्म छुट दिने जानकारी आएको पर्यटन विकाश समितिका अध्यक्ष गुरुङको भनाई छ । यो वर्षको पर्यटकीय आउने मुख्य समयमा नै कोरोना भाइरसका कारणले विश्व आक्रान्त बनेपछि यहाँको पर्यटन गतिविधी पनि ठप्प छ ।

होटल संचालक भन्छन्र्, यस बर्ष कोरोनाका कारण चार तारेदेखि साना होटल, रिर्सोटका करिब १ हजार कोठामा बस्ने पाहुना भएनन् , ६७ वटा होटल र रिर्सोटमा कार्यरत १ हजार ३ सय जना कर्मचारी बेरोजगार भए । ’भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डनदेउपुर नगरपालिका भूभागमा बनेका होटल र रिर्सोट बन्द भएसंगै कर्मचारी र होटल मजदुरको दैनिकी सकसपूर्ण बनेको छ । 

बैंकबाट ऋण लिएर पर्यटन व्यवसाय सुरु गरेकाहरुको अवस्था झनैं कष्ठकर भयो, एकातिर होटलको सरसफाइ र अर्कातिर कर्मचारीलाई धान्न मुस्किल भएको होटल मेरीगोल्डका संचालक गोकुल लामिछानेले बताउनुभयो ।

अहिले पनि कोभिडको त्रास बाकीँ नै रहेकाले बाह्य देशका पर्यटक आउने अवस्था नभएकाले अझैं दुई वर्ष पर्यटन व्यवसाय समस्यामा हुने देखिन्छ, लामिछानेले भन्नुभयो।

तारेदेखि साना गरेर ६७ वटा होटल संचालन गर्ने व्यवसायीलाई बन्दले निकै असर गर्यो । करिब ४ हजार मानिसलाई रोजगारीका कारण प्रत्यक्ष असर पुग्यो’ होटल मिस्टीक माउण्टेनका संचालक धिरज तामाङ्गले भन्नुभयो ।

यति बेला विगतका वर्षमा जस्तो भए पर्यटकीय स्थल नगरकोटमा आन्तरिक र बाह्य पर्यटकको घुईंचो हुन्थ्यो । पछिल्लो समय नगरकोटका होटलहरुमा योग्यताका आधारमा स्थानीयहरुले नै काम पाएका थिए । अर्को तर्फ मण्डनदेउपुर नगरपालिकाको देउपुर, सल्लेबास, रानीबन, गैरीगाउँ, हलेदे, ढाडागाउँ किसानका कृषिजन्य उत्पादन नगरकोटमा बिक्रि हुदैं आएको थियो ।

भक्तपुरको चाँगुनारायण, काभ्रेको बनेपा साथै काठमाडौको शंखरापुर नगरपालिका किसानहरुको कृषि र पशुजन्य उत्पादन नगरकोटका होटलमा बिक्र हुने गरेको थियो । नगरकोटमा पर्यटनको विकाश भएको लामो समय भएपनि त्यसको संस्थागत विकाश अझैं हुन् सकेको देखिदैन् । राजधानी नजिकको गन्तव्य भएरपनि समयमै भक्तपुर नगरकोट सडकको काम नसकिदा व्यवसायमा ठुलो असर परेको छ ।

नगरकोट क्षेत्रलाई पर्यटनको हवको रुपमा विकाश गर्न सके चाँगुनारायण नगरपालिका भक्तपुर, मण्डनदेउपुर र बनेपा नगरपालिका काभ्रे र शंखरापुर नगरपालिका काठमाडौंसम्मलाई यस क्षेत्रको पर्यटन विकाशले अप्रत्यक्ष प्रत्यक्ष रुपमा अहिलेपनि लाभ पुग्ने होटल क्लब हिमालयका जनसम्पर्क प्रमुख रोहित मोक्तानको भनाई छ ।

प्राकृतिक सौन्दर्यले भरपुर नगरकोटमा मानव निर्मित थप पर्यटकीय संरचना बनाउन सके पर्यटकको केही दिनको बसाई लम्बाउन सकिने ब्यबसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्