यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता



जोहन्सवर्ग ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उहाँ पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ ।

यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । उहाँहरुको छोटो चर्चा यहाँ गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुनुुहुन्छ । उहाँलाई गत अप्रिलमा सङ्क्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो । उहाँलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो । तर भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उहाँले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै आफ्नो कामहरु पनि गर्नुभएको थियो ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । उहाँले सङ्क्रमित भएको बेला मलेरिया विरुद्धको औषधि प्रयोग गरेर कोरोना भाइरसका लागि मलेरिया विरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खोज्नुभएको थियो । त्यो अहिले पनि अप्रमाणित नै रहेको छ । उहाँले सामाजिक दुरी काम गर्ने, माक्सको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गर्ने गर्नुभएको थियो । उहाँ लकडाउन विरोधी नेताका रुपमा पनि चिनिनुहुन्छ । उहाँको श्रीमती पनि सङ्क्रमित हुनुभएको थियो ।

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उहाँकी आफ्नी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो । तर उहाँमा लक्षण भने सामन्य मात्रै देखिएको उहाँले बताउनुभएको थियो । उहाँले आफूमा सङ्क्रमण भए पनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गर्नुभएको थियो ।

गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते

कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि हुनुहुन्छ । उहाँलाई गत सेप्टेम्बरमा सङ्क्रमण पुष्टि भएको थियो । आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत उहाँले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गर्नुभएको थियो । उहाँले पनि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताउनुभएको थियो ।

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । उहाँलाई गत जुलाईमा सङ्क्रमण भएको हो । सङ्क्रमित भएपछि उहाँ आइसोलेशनमा बस्नुभएको थियो । उहाँले त्यो बेलामा कुनै असजिलो भने महसुस गर्नुभएको थिएन । कोरोनाबाट संक्रमित हुने उहाँ ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुनुहुन्थ्यो । त्यसअघि ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टी भएको थियो । अनेजको कार्यालयका केही सदस्यहरुमा संक्रमणको पुष्टि भएपछि उहाँको पनि परीक्षण गराउँदा उहाँमा संक्रमण देखिएको हो । बोलिभियामा सरकारका चार जना शीर्ष अधिकारीहरुमा समेत कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर

गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । उहाँ आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा सङ्क्रमित भइ सङ्क्रमणमुक्त हुनुभएको समाचारमा जनाइएको छ । उहाँले आफ्नो निर्वाचन हुनु अगाडि नै हप्ता लामो आइसोलेशनमा पनि बस्नुपरेको थियो ।

इरानका उपराष्ट्रपति र मन्त्रीहरु

कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । देशका बरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यस बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि सङ्क्रमित भएका थिए ।

यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । विश्वव्यापी रुप्मा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दश लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट संसारभरी कुल तीन करोड ४५ लाख १७ हजार ४४६ जना सङ्क्रमित भएका छन् भने ती मध्ये दुई करोड ५६ लाख ८८ हजार ७७२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित भएकाहरुको सङ्ख्याअनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म ७४ लाख ९४ हजार ६७१ जना सङ्क्रमित हुँदा दुई लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ ।

त्यसैगरी सङ्क्रमितहरुको धेरै सङ्ख्याका आधारमा भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका क्रमशः अग्र दश स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्