दस खेलाडीमा सिमित बार्सिलोनाको जित



एजेन्सी ।

स्पेनिस ला लिगा फुटबलमा दस खेलाडीमा सिमित बार्सिलोनाले दोस्रो खेलमा पनि सहज जित हात पारेको छ ।

बार्सिलोनाले नयाँ सिजनको दोस्रो खेलमा सेल्टा भिगोमाथि ३-० गोलअन्तरको सहज जित आत्मसात गरेको हो । नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा बार्सिलोनालाई जिताउन युवा स्टार अन्सु फाती र सर्जी रोवेर्टोले १–१ गोल गरे भने १ गोल सेल्टा भिगोले आत्मघाती उपहारमा दिएको थियो ।

बार्सिलोनाले खेल सुरु भएको ११औं मिनेटमै युवा स्टार अन्सु फातीको गोलमार्फत अग्रता लिएको थियो । डिबक्सभित्र फिलिपे कोउटिन्होबाट पाएको पासमा १७ वर्षीय फातीले सेल्टाका २ जना डिफेन्डरलाई बिट गर्दै चलाखीपूर्वक बललाई जाली चुमाएका थिए । यससँगै फातीले नयाँ सिजन सुरु भएयता ला लिगाको दुई खेलमा आफ्नो गोल संख्या ३ पुर्‍याएका छन् । बार्सिलोना खेलको ४२औं मिनेटमा १० खेलाडीमा झरेको थियो । डिफेन्डर क्लेमेट लेङलेटले दोहोरो पाहेंलो कार्ड पाएर मैदान छाडेका थिए ।

खेलको दोस्रो हाफ सुरु भएको केहीबेरमै भने बार्सिलोनाले एक आत्मघाती गोल उपहार पायो । कप्तान मेसीले प्रहार गरेको बल सेल्टाका खेलाडी लुकास ओलाजालाई लाग्दै पोस्टमा छिरेको थियो । त्यसपछि खेलको इन्जुरी समयको पाँचौं मिनेटमा डिफेन्डर रोबर्टोले तेस्रो गोल गरेपछि बार्सिलोनाको सहज जित पक्का भयो ।

यससँगै बार्सिलोनाले सेल्टाको घरेलु मैदानमा लामो समयपछि जित निकालेको छ । यसअघि सेल्टाकाे घरेलु मैदानमा भएका ६ खेलमा बार्सिलोना लगातार जितविहीन बन्दै आएको थियो ।जितसँगै बार्सिलोनाले लिगका सुरुआती दुवै खेल जितेर ६ अंक जोडेको छ । पराजित सेल्टाको भने ५ अंक रहेको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शुक्रबार बिहानै भएको अर्को खेलमा सेभियाले पनि आफ्नो घरेलु मैदानमा लेभान्टेलाई पराजित गर्‍यो । खेलको इन्जुरी समयमा गरेको १ मात्रै निर्णायक गोलले सेभियाले तीन अंक जोड्न सफल भएको हो ।

सेभियाले खेल अवधिभर बलमा नियन्त्रण बनाएपनि विजयी गोलका लागि इन्जुरी समयसम्म नै कुर्नुपरेको थियो । खेलको ७१औं मैदानमा लुका डे जोङको स्थानमा मैदान छिरेका युसुफ येन–नेसरीले ९२औं मिनेटमा हेडिङ्ग मार्फत गोल गरेपछि सेभियाले जित आत्मसात गर्‍यो । जितपछि सेभियाले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित लेभान्टेको भने ३ अंक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्