लालीगुँरासले शुरु गर्यो एटीएम सेवा र डेरी उद्योग



ललितपुर, (नेस)
श्री लालीगुराँस सहकारी संस्था लिमिटेडले एटीएम सेवा शुरु गरेको छ । पुल्चोकस्थित मुख्य कार्यालयमा सो सेवा शुरु गरेको हो । एटीएम बुथको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गर्नुभएको थियो । संस्थाको २२औं स्थापना दिवसको अवसरमा एटीएम सेवा शुरु गरेको हो ।
करिब २१ हजार शेयर सदस्यले बिहीबारबाट एटीएम सेवा प्रयोग गर्न सक्ने संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँले निकट भविष्यमा आफ्ना अन्य काउन्टरहरुमा समेत एटीएम बुथ स्थापना गरी सेवा दिने बताउनुभयो ।
संस्थाले बिहीबारबाटै आफ्नो लगानीमा स्थापना भएको श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरेको छ । उद्योगको संस्थाका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत भण्डारीले उद्घाटन गर्नुभएको थियो।
संस्थाले बिहीबारबाटै दुग्धजन्य पदार्थ बिक्री गर्न शुरु गरेको छ । कार्यकारी अधिकृत भण्डारीले व्यावसायिक रुपमा दूध, दही, मोही, नौनी, घिउको बिक्रीवितरण शुरु गरेको जानकारी दिनुभयो ।
चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठूलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल सहकारीले दुग्ध उद्योग स्थापना गरेको हो ।
सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडि बढाउँदै लैजाने बताउनुभयो ।
ललितपुरको चापागाउँ, काठमाडौं चाबहिल र न्युरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको संस्थाले आफ्ना शेयर सदस्यलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिखेलमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षाक्षेत्रतर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि÷कलेज, डेरी परियोजनातर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावरलगायत अन्य विभिन्न संघसंस्थाहरुमा लगानी गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई संकुचित पार्दै लगेको बताउनुभयो । उहाँले एक व्यक्तिले एउटा सहकारीमा मात्र सदस्य हुन पाउनेजस्ता नीति अव्यावहारिक भएको बताउनुभयो ।
नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्षसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताउँदै नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्