३३ केभीए प्रशारण लाईनमा बारम्बार आउने समस्याले मोलुङ हाईड्रोपावरको बिद्युत उत्पादनमा ह्रास



लिला सुनुवार, ओखलढुंगा ।

लिला सुनुवार, ओखलढुंगा
ओखलढुंगाको मोलुङ खोलामा मोलुङ हाइड्रोपावर कम्पनीद्वरा सञ्चालित ७ मेगावाट क्षमताको मोलुङ हाइड्रोपावरले आफ्नो क्षमताको शतप्रतिशत विद्युत् उत्पादन गर्न नसकेको कम्पनीले जनाएको छ ।
ओखलढुंगा–बुइपा ३३ केभीए प्रसारण लाइनमा बारम्बार आउने समस्या र विद्युत् उत्पादन भइरहेको खोलामा सर्वे गर्ने बेलाभन्दा हाल वर्षायामबाहेकको समयमा पानीको मात्रा निकै घटेकाले शतप्रतिशत विद्युत् उत्पादन गर्न नसकिएको मोलुङ हाइड्रोपावर कम्पनीका सञ्चालक नवीन महर्जनले बताउनुभयो ।

ओखलढुंगा बुइपा र बुइपा जलजले प्रसारण लाइनमा बारम्बार रुख र बाँसका पातले तारमा छुने गर्दछ । यसरी प्रसारण लाइनको तारमा बोटबिरुवाले छोएपछि विद्युत् गृहमा ट्रिप खान पुगी विद्युत् उत्पादन बन्द हुने कम्पनीले जनाएको छ ।

२०७४ साल चैत १२ गतेबाट विद्युत् उत्पादन शुरु गरेको कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ मा ४३ प्रतिशत, २०७५÷०७६ मा ५८ प्रतिशत र २०७६÷०७७ मा ७० दशमलव ५ प्रतिशत मात्रै विद्युत् उत्पादन गरिएको मोलुङ हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सुवासचन्द्र झाले बताउनुभयो ।
कम्पनीले कुल उत्पादन क्षमताको शतप्रतिशत विद्युत् उत्पादन गर्न नसक्दा आर्थिक वर्ष २०७४÷०७५ मा ३ करोड २५ लाख ९१ हजार ५ सय, २०७५÷०७६ मा २ करोड २८ लाख ६१ हजार ८ सय र २०७६÷०७७ मा २५ लाख २८ हजार गरी हालसम्ममा ५ करोड ७६ लाख ८१ हजार ३ सय रुपियाँ बराबरको नोक्सान कम्पनीलाई भएको आयोजना प्रमुख झाले बताउनुभयो ।

कुल १ अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको मोलुङ हाइड्रोपावरमा ४ वटा बैंकको १ अर्ब ३ करोड ऋण लगानी रहेको कम्पनीले जनाएको छ । विद्युत् उत्पादनमा ह्रास आएकाले कम्पनीले बैंकको ब्याज मात्रै तिर्न सकिएको र कम्पनीले नाफा कमाउन नसक्दा स्थानीय शेयर लगानी कर्ताहरुलाई लाभांश दिन नसकिएको कम्पनीले जनाएको छ ।

विद्युत् प्राधिकरण ओखलढुंगाका प्रमुख सञ्जीव शाहले ओखलढुंगा–बुइपा, बुइपा–जलजले प्रसारण लाइनको अधिकांश भाग जङ्गलमा पर्ने भएकाले विद्युत् लाइनमा रुखबिरुवाले छुने समस्या रहेको र लाइनमा रहेका रुखहरु चाँडै हटाउने योजना रहेको बताउनुभयो । यसै गरी १३२ केभीए क्षमताको प्रसारण लाइन निर्माणको क्रममा रहेको र उक्त प्रसारण लाइन विस्तार सम्पन्न भएपछि ३३ केभीए प्रसारण लाइनमा देखिएको समस्या समाधान हुनेसमेत प्रमुख शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्