मृत्युपछि चुनावी सफलता



बुखारेस्ट, (एजेन्सी)
कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रोमानियाका एकजना मेयरले मृत्युपछि अत्यधिक मतले स्थानीय चुनाव जितेको बताइएको छ। आयोन एलिमानले दक्षिणी रोमानियाको देभेसेलु नामक गाउँमा तेस्रो कार्यकालका लागि मेयर पदमा विजय हासिल गरेका हुन्।
उनी खसेको कुल मतमध्ये ६४ प्रतिशत मत हासिल गर्न सफल भएका छन्। उनको १५ सेप्टेम्बरमा राजधानी बुखारेस्टमा मृत्यु भएको थियो । निर्वाचन कार्यालयका अधिकारीले उनको नाम मतदाता पत्रमा प्रकाशन भइसकेकाले मृत्युपछि पनि उनको उम्मेदवारी हटाउन नमिलेको बताएका छन्। अब उनको स्थानमा अर्को चुनाव गराइने भएको छ।
समर्थकले चुनावी सफलतापछि उनको चिहानमा गएर उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए। ५६ वर्षीय एलिमान पूर्वनौसैनिक अधिकारी तथा वामपन्थी सोसियल डेमोक्र्याटिक पार्टी ( पीएसडी) का सदस्य थिए।

प्रतिक्रिया दिनुहोस्