जापानका ‘ट्वीटर किलर’द्वारा अपराध कबुल



टोकियो, (एजेन्सी)
जापानका एकजना पुरुषलाई ट्वीटरमार्फत आफ्नो सम्पर्कमा आएका नौ व्यक्तिको हत्या गरेको अभियोगमा मुद्दाअघि बढाइएको जापानी सञ्चार माध्यमले बिहीबार जनाएको छ। यस क्रूर हत्याकाण्डको कारण सिंगो जापान नै स्तब्ध बनेको छ। ‘ट्वीटर किलर’को उपनामले कुख्याती कमाएका ताकाहिरो सिराइसीलाई सन् २०१७ मा प्रहरीले गिरफ्तार गरेको थियो।

त्यतिबेला नै उनको अपार्टमेन्टबाट मानव अंगका टुक्रा बरामद भएका थिए। बुधबार राजधानी टोकियोस्थित एक अदालतमा उनले आफूविरुद्ध लगाइएका सम्पूर्ण आपराधिक अभियोग स्वीकार गरेका थिए। तर, उनका वकिलले पीडकले उनलाई आफ्नो हत्या गर्न सहमति दिएको स्पष्ट देखिएकाले उनको सजाय घटाइनुपर्ने धारणा व्यक्त गरेका छन्।

यदि, अन्ततः अदालतले उनलाई सम्पूर्ण हत्याकाण्डका लागि दोषी करार गरिएको खण्डमा उनलाई मृत्युदण्ड सुनाउनेछ। जापानमा मृत्युदण्ड पाउनेलाई फाँसी दिइने प्रचलन छ। जापानी सरकारी समाचार निकाय एनएचकेका अनुसार यस मुद्दाप्रति जनताको निकै उत्सुकता रहेको देखिएको छ। मुद्दाको कारबाही हेर्न र सुन्न अदालतको १३ वटा दशर्कदीर्घाको सिटमा ६ सय बढी सर्वसाधारण बसेको बताइएको छ।

ताकाहिरोले सन् २०१७ मा आत्महत्या गर्ने विचारमा रहेका महिलालाई सम्पर्क गर्न ट्वीटर एकाउन्ट खोलेका थिए। उनका सबै अर्थात् आठैजना पीडित महिला रहेका छन्। एकजना त १५ वर्षीया किशोरी रहेकी छन्। एक मात्र २० वर्षीय पुरुष उनको शिकार भएका थिए। उनलाई पनि उनकी प्रेमिकाको ठेगाना सोधेर हैरान पारेका थिए।

२९ वर्षीय ताकाहिरोले आफूले मर्न चाहनेलाई सजिलै मर्ने तरिका बताउने र आफू पनि तिनीहरूसँगै मर्ने बताएर शिकार फसाउने गरेको बताइएको छ। उनले ट्वीटरमा यसरी सन्देश लेख्ने गर्दथे– ‘ साँच्चै पीडा भोगिरहेकालाई म मद्दत गर्न चाहन्छु। कृपया मलाई कुनै पनि बेला प्रत्यक्ष सन्देश पठाउनुहोला।’ तर, ताकाहिरोले आफ्नै वकिलको भनाइ काट्दै पीडितलाई तिनीहरूको अनुमतिविना नै आफूले मारेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्