सरकारको मुख्यसचिवमा वैरागी



काठमाडौं, (नेस)
नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय हो ।
मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार रहनुभएको थियो । ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिनुभएको हो । रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । राजदूतहरूको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्