डडेल्धुरामा कालोबजारी मौलाउदैं, विवादका कारण बजार अनुगमन ६ महिनादेखि अवरुद्ध



राम धामी, डडेल्धुरा ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको शुरुवाती चरणमा गत चैत महिनाको पहिलो साता डडेल्धुरामा सदरमुकाममा कालोबजारी बढेको गुनासो बढेपछि बजार अनुगमन शुरू गरियो । बजार अनुगमन कार्य चलिरहँदा विवाद उत्पन्न भएपछि अनुगमन कार्य बिचमै रोकियो । अनुगमन टोली र उद्योग वाणिज्य संघ डडेल्धुराविच उत्पन्न विवादका कारण अवरुद्ध बजार अनुगमन अझै शुरु हुन सकेको छैन ।

डडेल्धुराका तत्कालिन प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तसहितको टोली बजार अनुगमनका लागि निस्किए पनि डडेल्धुरा उद्योग वाणिज्य संघले अमरगढी नगरपालिकाले व्यापारीहरूलाई दुःखदिने नियतले बजार अनुगमन गरेको आरोप लगाएको थियो । व्यवसायी र अनुगमनकर्ताबीच ‘भनाभन’को अबस्था नै सिर्जना हुँदा बजार अनुगमन कार्य बिचमै स्थगित गरिएको हो ।

बजार अनुगमनको पाटो मात्र नभई केहि व्यवसायीहरुले अव्यवस्थित रुपमा फुटपाथमा समान राखेको, सडकमै सवारी साधन पार्किङ गरिएको र खोका छाप्रा निर्माण तथा घरको माथिल्लो तलामा उक्लिन बनाइएको सिँढीका बिषयमा अनुगमनकर्ताहरुले कुरा उठाएपछि विवाद उत्पन्न भएको हो । व्यवसायीहरुको तिब्र बिरोधका कारण बजार अनुगमन रोकिएपछि अमरगढी नगरपालिका, डडेल्धुरा उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय डडेल्धुराविच केहीदिन जुहारी चल्न थाल्यो । विवाद साम्य भएपछि बजार अनुगमन गरिने भनिए पनि हालसम्म बजार अनुगमन हुन सकेको छैन ।

बजार अनुगमन कार्य अवरुद्ध भएपछि नेपालीहरुका महान पर्व दशैं र तिहार नजिकिँदै सदरमुकाम लगायत जिल्लाका बिभिन्न बजारहरुमा कालोबजारी बढदै गएको उपभोक्ताहरुको गुनासो छ । अनुगमन गर्ने निकायहरूबीच विवाद सिर्जना भएपछि बजार अनुगमन हुने छाँटकाँट नदेखिएकाले बजारमा कालोबजारी मौलाएको स्थानीय अगुवा हरिप्रसाद पनेरुले बताए ।

कालोबजारी मौलाएसँगै स्थानीय बजारहरुमा गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री दिन प्रतिदिन बढेको गुनासो बढ्न थाले पनि सम्बन्धित निकाय मौन बसेकोले उपभोक्ताहरु प्रताडित भइरहेको डडेल्धुरा नागरिक समाजका संयोजक रमेश जोशीले बताए । बजारमा महँगी, कालो बजारी भइरहँदा समेत अझै विवाद सिर्जना हुने पो होकी ? भन्ने आशंकाले सम्बन्धित निकायले बजार अनुगमन नगरेको स्थानीय बताउछन ।

चाडपर्व नजिकिएसँगै व्यापारीहरूले म्याद नाघेका खाद्य वस्तु बिक्री वितरण गरिरहेको र अर्कोतिर कालोबजारी मौलाएको भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको स्थानीय राधा पालले गुनासो गरिन् ।उनले लकडाउनमा बिक्रि नभएर खाद्य सामाग्रीहरुको म्याद समाप्त भइसकेको भए पनि व्यवसायीहरुले मौकाको फाइदा उठाएर बिक्रि गरिरहेको आरोप लगाईन ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको ‘हिल स्टेशन’का रूपमा चिनिने डडेलधुरा सदरमुकाममा विभिन्न कम्पनीका ठूलाठूला डिलरहरू छन् । ती डिलरबाट सुदूरका पहाडी जिल्लाहरूका साथै डडेल्धुराका सात स्थानीयतह माल समान पठाउने गरिन्छ । हालसम्म बजार अनुगमन नहुँदा एकातिर सर्वधारण मारमा परेका छन् भने अर्कोतिर चर्को मूल्यमा सामग्री किन्नुपर्ने बाध्यता छ ।

म्याद नाघेका बजारमा बिक्री नहुने सामग्री कम मूल्यमा भए पनि बिक्री गरिरहेको स्वयंम व्यवसायीहरू स्वीकार्दछन् । ग्रामीण क्षेत्रमा म्याद नाघेका सामाग्रीहरुका बारेमा उपभोक्ताहरुले चासो नराख्ने गरेकाले म्याद नाघेका सामाग्रीहरु खुलेयाम बिक्री हुने गरेको जिल्लाको सिमान्त रुपाल क्षेत्रका बासिन्दा महेन्द्र ठकुराठीले बताए । दशैं तिहारका लागि एकमुस्ट सामान भित्र्याउने यहाँका स्थानीयले सामान खरिद गर्न शुरू गरिसकेको र म्याद नाघेका अखाद्य वस्तु खरिद गरिरहनु परेको स्थानीय मञ्जु ठकुराठीले बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपभोक्ता हित संरक्षण सम्बन्धी २१ दायित्व स्थानीय तहले पूरा गर्नुपर्ने तोकेको छ । नियमित बजार अनुगमन लगायत स्वच्छता र स्वस्थ्य सम्बन्धी विषयमा विशेष जोड दिएको छ । ऐनले बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिएको भए पनि जिल्लाका स्थानीय तहमा बजार अनुगमन समितिहरू भने निष्क्रिय छन् । कतिपय स्थानीय तहमा बजार अनुगमन समिति समेत गठन हुन सकेको छैन ।

अनुगमन समिति गठन र कार्यविधि निर्माण नहुँदा अनुगमन गर्न नसकिएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । सदरमुकामसिथत अमरगढी नगरपालिकाले बजार अनुगमन चाँडै गर्ने जनाएकोे छ । बजार अनुगमनगर्दा विवाद सिर्जना भएकोले निरन्तर रूपमा बजार अनुगमन गर्न नसकेको अमरगढी नगरपालिकाकी उपप्रमुख संगिता भण्डारी बताउछिन । ‘स्थानीय प्रशासनको संगलग्नता रहँदा पनि बजार अनुगमन कार्यको विरोध भयो । अब सबैलाई मिलाएर बजार अनुगमन गर्छौ,’ उनले भनिन्, ‘बजार अनुगमनका लागि समिति गठन र कार्यविधि निर्माण गरिसकेको उनले जानकारी दिइन् ।

उपभोक्ताको हितका लागि दसैंतिहारलाई लक्षित गरी बजार अनुगमन गर्न जिल्लास्थित सबै स्थानीय तहलाई निर्देशन दिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराबम आर्यालले जानकारी दिए । ‘अहिले स्थानीयबजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिइएको छ । सबै स्थानीय तहलाई बजार अनुगमन गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘कहिले बजार अनुगमन हुन्छ भनेर ठ्याक्कै भन्न सक्दैन । तर, दसैंतिहार अगाडि बजार अनुगमन हुन्छ ।’ बजार अनुगमन गर्ने काम स्थानीय तहको भएकोले निरिक्षण अधिकृतको रूपमा आफूले बजार अनुगमन गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्