केशव भट्टराईको परिवारलाई ३४ लाख हस्तान्तरण



भिनेता, निर्माता तथा तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको असमायिक निधनपछि उनको परिवारको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ गठन गरिएको स्वर्गीय केशव भट्टराई परिवार सहयोग समितिले बुधबार राजधानीमा आयोजित एक समारोहबीच भट्टराई पत्नीलाई सहयोग रकम हस्तारण गरेको छ।
राजधानीको चावहिल सरस्वतीनगरस्थित बोर्डको हलमा आयोजित कार्यक्रमका बीच समितिका संयोजक तथा निर्माता राजकुमार राईले स्व. भट्टराईका धर्मपत्नी नीता भट्टराईलाई सहयोगबाट उठेको कुल रकम ३४ लाख रुपियाँ हस्तान्तरण गरे।
समितिले सहयोग रकम संकलन गर्न कलाकार तथा फिल्मकर्मीलाई आह्वान गरेको थियो। देश तथा विदेशमा रहेका फिल्मकर्मीले उक्त अभियानमा साथ दिँदै सहयोग गरेका थिए। विदेशमा रहेका फिल्मकर्मी नारायण पुरी, कृष्ण चापागाईं, सुमन दाहाल, सुरेशदर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती, गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरे, ऋचा घिमिरे, दिलीप रायमाझी, जल शाह, सारंगा श्रेष्ठ, राजबल्लभ कोइराला, भानु प्रताप, जीवन लुइँटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामालगायतका सयौं कलाकारले उनको सहयोगका लागि रकम पठाएका हुन्।
यस्तै नेपालबाट समितिमा रहेका सदस्यहरू स्वयं र अन्य फिल्मर्कीले पनि लाखौं रुपियाँ संकलन गरेका छन्। जसमा राजकुमार राई, छक्कापञ्जा टिम, प्रभुशमशेर जबरा, ओम अग्रवाल, नरेन्द्र महर्जन, छविराज ओझ, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार संघ हेटौंडा शाखा, फिल्म आमा टिम, आकाश अधिकारी, शिशिर भण्डारीलगायतले उनलाई सहयोग गरेका छन्।
जीवनभर फिल्म क्षेत्रमा सक्रिया स्व. भट्टराईले थुप्रै फिल्म निर्माण गरे पनि कमैबाट आर्थिक मुनाफा जम्मा पार्न सकेका थिए। उनले आफ्नो मान्छे, छोडिगए पाप लाग्ला, देवरबाबु, ब्रासलेट, सो सिम्पल, यात्रालगायतका फिल्म निर्माण गरेका थिए। फिल्म निर्माणमै उनले आफ्नो जायजेथासमेत सकाएका थिए। पछि उनले आफ्नो सञ्चयकोष र सरसापटी गरेर एक अपार्टमेन्ट खरिद गरेका थिए। नेपाल विद्युत् प्राधिकरणको जागिरबाट राजीनामा दिएर चलचित्र विकास बोर्डको अध्यक्ष बनेका भट्टराईको आफ्नो कार्यकालमध्ये ६ महिना नबित्दै असामयिक निधन हुन पुगेको थियो। त्यसपछि परिवारमा देखिएको विविध समस्यालाई समाधान गर्न सहयोग पुग्ने गरी राजकुमार राईको संयोजकत्वमा नरेन्द्र महर्जन, दीपाश्री निरौला, आकाश अधिकारी, प्रकाश सुवेदी, वसुन्धरा भुसाल, निकिता पौडेल, गिरीश शर्मालगायत सदस्य रहेको सहयोग समिति गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्