आईपीएलको सट्टेबाजी गर्ने तीन पक्राउ



विराटनगर, (नेस)
यूएईमा जारी आईपीएलमा कसले खेल जित्ने वा हार्ने भनी अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने विराटनगरका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अनलाइनमार्फत सट्टेबाजी खेल खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका विराटनगर–१५ बस्ने वर्ष ३८ का मुन्ना भन्ने सत्यजित साहलाई आफ्नै घरबाट मोबाइल फोनमार्फत सट्टाबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनी अनुसन्धानपछि पक्राउ परेका हुन् ।
विराटनगर–१७ रानी बस्ने वर्ष ४२ का जगदीश साह र विराटनगर–१५ रानीका वर्ष ३८ का वैजनाथ साहलाई पनि प्रहरीले मंगलबार राती नै पक्राउ गरेको हो । पक्राउ परेका सत्यजित साहको साथबाट निलो रङको सामसुङ कम्पनीको मोबाइल एक थान, नेपाली विभिन्न दरका ६० हजार रुपियाँ र डेल कम्पनीको ल्यापटप एक थान बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।
त्यस्तै जगदीश साहको साथबाट सामसुङ कम्पनीको मोबाइल एक थान र आर १५ मोटरसाइकल एक थान बरामद गरिएको छ भने वैजनाथ साहको साथबाट सामसुङ कम्पनीको मोबाइल एक थाना बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्