ललितपुर महानगरको गल्लीगल्लीमा नगरप्रहरी



ललितपर, (नेस)
ललितपुर महानगरपालिकाका नगर प्रहरीले साइकल गस्ती शुरु गरेको छ । साइकल गस्तीको बुधबारदेखि औपचारिक रूपमा शुरुआत गरिएको हो ।
साइकल लिएर महानगरको गल्ली, टोल र चोकमा पुगेका नगर प्रहरीले महानगरभित्रको फुटपाथ अतिक्रमणलाई रोक्न शुरु गरेका छन् । बिग्रेको सडक, फुटेको ढलको बारेमा रिपोर्टिङ गर्छन् । त्यसै गरी शहरको सरसफाइलाई समेत उनीहरूले प्राथमिकतामा राखेका छन् ।
ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जनतालाई सेवा दिन महानगरपालिकाले साइकल गस्तीको अवधारणा अघि सारेको बताउनुभयो । ललितपुरलाई साइकल शहर बनाउने योजनाअन्तर्गत साइकललाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।
ललितपुर महानगरको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगरभित्रको गल्ती, टोलटोलमा छिट्टै र सजिलो होस् भनेर साइकलमार्फत गस्ती शुरु गरेको बताउनुभयो । उहाँले साइकल गस्तीको मदतले नगरबासीलाई सहज हुने बताउनुभयो ।
हाल महानगरले नगरप्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ । साइकल चढेका १० नगरप्रहरी एकैसाथ महानगरको भित्रीक्षेत्र, चक्रपथ महानगरबाहिरको वडाहरूमा समेत पुग्नेछन् । साइकल गस्तीको टोलीसँग भिडियो खिच्ने र फोटो खिच्ने क्यामेरासमेत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्