डा. केसीको जीवन रक्षा गर्न माग



काठमाडौं, (नेस)
नेपाल चिकित्सक संघका आजीवन सदस्य प्राडा गोविन्द केसीको सत्याग्रहको १७औं दिन भइसक्दा पनि सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चिकित्सा शिक्षाका अभियन्ता डा. केसीको जीवन रक्षाका लागि सार्थक वार्ता गरी उत्पन्न समस्याको यथाशीघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ माग गरेको छ ।

सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरूको अक्षरशः कार्यान्वयन गरी सर्वसाधारण नागरिकहरूको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अविलम्ब वार्ताटोली गठन गरेर डा. केसीको जीवन रक्षा गर्नु नेपाल सरकारकै दायित्व भएको जनाइएको हो ।

हाल विश्वभर महामारीका रूपमा देखापरेको कोभिड–१९ को संक्रमणका कारण नेपालमा आजको मितिसम्म ४ सय ९१ जनाले मृत्युवरण गर्नुपरेको एवं ७६ हजार २ सय ५८ जना संक्रमित भइरहेको विद्यमान अवस्थामा डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति हुन सक्ने कार्यक्रमलाई मध्यनजर राख्दै नेपाल सरकारले यथाशीघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको नेपाल चिकित्सक संघको ठहर गरेको छ ।

डा. केसीको जीवन रक्षाका निम्ति नेपाल चिकित्सक संघले कठोर कदमहरू चाल्ने गम्भीर परिस्थिति सिर्जना नगर्न र संघ वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्नसमेत तयार रहेको संघका महासचिव डा. बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्