प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कर्जा



काठमाडौं, (नेस)

मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपियाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो । सम्झौताअनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत विभिन्न सुविधा पाउन सक्नेछन् ।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपियाँसम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ । यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेसनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने सम्झौता भएको छ ।

यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने मेगा बैंकले जनाएको छ । कोभिड–१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववतरुपमा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो । विद्यालय सञ्चालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्