लागूपदार्थ सेवनमा भेटिएन अभिनेत्रीहरुको संलग्नता



बलिउडका ४ नायिका सारा अली खान, दीपिका पादुकोण, रकुल प्रीत सिंह र श्रद्धा कपुर यतिखेर भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को निगरानीमा छन्। पछिल्लो साता एनसीबीले यी ४ नायिकालाई बोलाएर कडा सोधपुछ गरेको थियो। तर हाललाई उनीहरुको संलग्नता लागूऔषध सेवनमा नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा लागूऔषध सेवनको कोण अगाडि आएपछि अनुसन्धानका क्रममा यी ४ अभिनेत्रीको नाम सामुन्ने आएको थियो। उनीहरुलाई लागूपदार्थ बेचबिखन तथा सेवनमा सम्बन्ध हुन सक्ने देखिएकाले अनुसन्धानमा तानिएको थियो। केही घण्टाको सोधपुछपछि चारै अभिनेत्रीलाई घर फर्काइएको छ। पछिल्लो समाचारअनुसार एनसीबीले अहिलेसम्मको अनुसन्धानमा दीपिका, सारा र श्रद्धाका लागूपदार्थ सेवन र बेचबिखनमा संलग्नता पाएको छैन। एनसीबीका एक अधिकारीले मुम्बई मिररको अनलाइन संस्करणसँग कुरा गर्दै भनेका छन्– ‘हामीले दीपिकासँगे उनको म्यानेजर करिश्मा प्रकाशसँगको च्याटका बारेमा सोध्दा उनले लागूपदार्थ सेवन गर्ने सम्बन्धमा विल्कुल अस्वीकार गरेकी छिन्। उनले बताइन् कि हैश, वीड, माल यो सबै चुरोट प्रयोग गर्नका लागि लिइने कोर्ड वर्ड हो। उनी ड्रग्स लिन्नन्।’ ती अधिकारीले सारा अली खानले पनि लागूपदार्थ सेवन गर्ने आरोप अस्वीकार गरेको खुलाएका छन्। श्रद्धा कपुरले सीबीडी आयलको प्रयोग बाहिरी कामका लागि बताएकी थिइन्। ती अधिकारीले हाललाई अभिनेत्रीहरुको मोबाइल फोन जफत गरे पनि लागूपदार्थ कारोबार र सेवनमा उनीहरुको सम्बन्ध नदेखिएको बताएको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्