नयाँ ट्रेकिङ गन्तव्य ‘सिस्ने राउन्ड’को अन्वेषण



नरेन्द्र केसी, दाङ

कोरोना संकटका कारण देशको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेका बेला पश्चिम नेपालमा आशा जगाउने गरी एउटा नयाँ ट्रेकिङ गन्तव्यको अन्वेषण थालिएको छ ।
पाँच प्रदेशमा पर्ने रुकुमपूर्व तथा कर्णाली प्रदेशमा पर्ने पश्चिम रुकुमका तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ ट्रेकिङ रुट ‘सिस्ने राउन्ड’को अन्वेषण भइरहेको छ । यो गन्तव्य अन्वेषण भइसकेपछि लाङटाङभन्दा पनि राम्रो ट्रेकिङ रुट बन्ने पर्वतारोहीहरूसमेत संलग्न अन्वेषण टिमले जनाएको छ ।

यो अन्वेषणको नेतृत्व सिस्ने हिमाली आरोही मनबहादुर खत्रीले गर्नुभएको छ । माउन्टेन गाइड/लिडर/इन्स्ट्रक्टर खत्रीको नेतृत्वमा भइरहेको अन्वेषणमा रुकुमपश्चिमका आठबीसकोट नगरपालिका र बाँफीकोट गाउँपालिका तथा रुकुमपूर्वको सिस्ने गाउँपालिकाले सहयोग गर्दै छ । सरकार–संस्था र व्यक्तिको त्रिपक्षीय साझेदारीमा भइरहेको गन्तव्य अन्वेषणमा संस्कृति तथा पर्यटन विकास केन्द्र पनि लागिरहेको छ ।

गत जेठदेखि गन्तव्य पहिचान शुरू गरिएको थियो । पहिलेका कतिपय तथ्यांकसमेत प्रयोग गर्दैै अन्वेषण टोलीले ट्रेक गर्दै रुट पहिचान गर्ने काम जारी राखेको छ । अहिलेसम्म एक महिना १८ दिन ट्रेकिङ गरेरै टोलीले रुट पहिचान गर्ने, कायम गर्ने र नजिकका भूभागसँग मेल खाने गरी नामकरण गर्ने काम गरिरहेको टोली नेता खत्रीले जानकारी दिनुभयो ।

अब चार दिनको ट्रेकिङ यात्राको भाग मात्र बाँकी रहे पनि नयाँ भूभाग र चट्टानहरू किला गाडेर, डोरी लगाएर हिँड्नुपर्ने भएकाले केही समस्या नआए एक महिनाको ट्रेकिङपछि ‘सिस्ने राउन्ड’को गन्तव्य पहिचान हुने उहाँले बताउनुभयो । ‘अहिलेसम्म कोही पनि नहिँडेको ट्र्याक भएकाले रुट पहिचान समस्या हो, रुट पहिचान गरेर कायम गरिसकेपछि बाटो बनाउन सजिलो छ’, उहाँले भन्नुभयो– ‘स्थानीय र प्रदेश सरकारहरू लागे भने ट्रेकिङ मार्ग निर्माण गर्न सकिन्छ ।’ प्रारम्भिक अध्ययनबाट यहाँ १४ दिनको ट्रेक बन्दै छ, जुन संसारमै उपयुक्त गन्तव्य मानिन्छ ।

यो ट्रेकको विकास गर्ने हो भने थुप्रै विदेशी पर्यटक भित्र्याउन सकिने अन्वेषण टोलीको निष्कर्ष छ । देशका सबै ट्रेकिङमा गाइड गरिसकेका खत्री भन्नुहुन्छ– ‘यो लाङटाङभन्दा राम्रो हुन्छ तर साविकमध्ये र सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल नहुनु हाम्रो विडम्बना हो ।’ अब पोरखा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यी विमानस्थलबाटै पर्यटन ल्याउनुपर्ने तर केही लामो गाडी यात्रा गराउनुपर्ने उहाँको अनुमान छ ।

पोखराबाट रुकुमकोट वा भैरहवाबाट दाङ हुँदै रुकुम पु¥याउन पर्यटकलाई समय लाग्ने भए पनि सिस्ने राउन्ड देशकै आकर्षक ट्रेक हुने भएकाले पर्यटकको कमी नहुने उहाँको बुझाइ छ । ‘धेरै पर्यटक हिमाल पनि नचढ्ने तर हिमाल चढेकै अनुभव गर्न चाहन्छन्, त्यसको तीर्खा मेटाउन सिस्ने राउन्ड ट्रेक उपयुक्त हुनेछ’, खत्री भन्नुहुन्छ– ‘यी दुई विमानस्थल चले, ट्रेकिङ रुटमा बाटो बन्यो र सबै ठाउँमा होटल खुले पनि सिजनमा दश हजार विदेशी सजिलै भित्र्याउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्