जोरबिजोरमा प्रहरीको कडाइ : एकै दिन १२ सय सवारी नियन्त्रणमा



ईश्वरराज ढकाल, काठमाडौं

स्थानीय प्रशासनले जारी गरेको आदेशको उल्लंघन गर्दै सडकमा जोरबिजोर प्रणालीमा सवारी सञ्चालन नगर्नेमाथि प्रहरी कठोर बनेको छ ।

कोरोना हटस्पट उपत्यकामा जोरबिजोरको बेवास्ता गर्दै सवारीको चाप अत्यधिक बढ्न थालेपछि ट्राफिक प्रहरीले थप कडाइ गरेको हो । महानगरीय ट्राफिक प्रहरीले मंगलबार एकैदिन करिब १ हजार १ सय मोटरसाइकल र करिब १ सय ५० को हाराहारीमा चारपाङ्ग्रे निजी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । चारवटा सार्वजनिक सवारीसाधनलाई समेत नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बिहानैदेखि उपत्यकाका विभिन्न स्थानबाट सवारी साधनलाई कारबाही गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मनपरी सवारीसाधन चलाउने १ हजार २ सय ५० सानाठूला सवारीसाधनलाई कारबाही गरेका छौं ।’

उहाँका अनुसार यो प्रक्रिया स्थानीय प्रशासनले अर्को आदेश जारी नगरेसम्म निरन्तर चल्नेछ । प्रहरीले चेकजाँचका लागि ४५ स्थानमा चेक प्वाइन्ट खडा गरेको छ । यसअघि भन्दा करिब डेढ दर्जन स्थानमा चेकप्वाइन्ट बढाएको थियो ।

ट्राफिक प्रहरीले सबैभन्दा धेरै जावलाखेल, बल्खु, थापाथली, भद्रकाली, लैनचौर, चाबहिल, बानेश्वर, कोटेश्वरलगायत रिङरोडनजिकका चेक प्वाइन्टबाट सवारी नियन्त्रणमा लिएको छ ।

करिब एकसातायता सवारी चालकले जोरबिजोर प्रणालीको बेवास्ता गर्दै मनपरीरूपमा सवारी चलाउन थालेको गुनासो आएपछि मंगलबारबाट ट्राफिक प्रहरीले थप कडाइ गरेको हो । महाशाखा प्रमुख एसएसपी ढकालले जोरबिजोर प्रणालीलाई पूर्णरूपमा पालना गर्न गरेको अनुरोधलाई बेवास्ता गरेपछि थप कडाइ गरेको जानकारी दिनुभयो ।

प्रहरीले सबै चेक प्याइन्टमा अत्यावश्यकबाहेकका सबै सवारी साधनलाई चेकजाँच गरी नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनले सवारी सञ्चालनमा थप कडाइ गर्न र जोरबिजोर प्रणालीको पालना नगरेकोलाई तत्काल नियन्त्रणमा लिन मातहतका निकायलाई निर्देशन दिएपछि ट्राफिक प्रहरीले सबै नाकामा कडाइ गर्न थालेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाडबाडमा बाहिर निस्कनेको भीड बढेको कारण जोरबिजोर उल्लंघन भएको स्वीकार्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उपत्यका छिर्ने र बाहिरिने क्रम बढेसँगै जोरबिजोर नियमको उल्लंघन बढेको प्रशासनको दाबी छ ।

तैपनि ट्राफिक प्रहरीले दैनिक सयौंको संख्यामा सवारीसाधन नियन्त्रण लिएर कारबाही गरेको जानकारी गराउँदै प्रजिअ दाहालले प्रशासनले जारी गरेको नियमलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले जारी गरेको मापदण्ड पूरा नगरी मनपरी रूपमा सवारी साधन सञ्चालन भइरहँदा समस्या बढेको बताउँदै भन्नुभयो– ‘जनता आफै सचेत भएर नियम पालना गर्नुपर्छ ।’ प्रशासनले जोरबिजोर नियम पालना नगर्ने सवारीसाधनलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको छ ।

‘चाडबाड आयो भन्दैमा प्रशासनले जारी गरेको आदेशलाई पालना नगर्ने भन्न मिल्दैन । हामीले सबै निकायलाई यो जानकारी गराएका छौं कि कसैले निमय उल्लंघन गर्छ भने तत्काल कारबाही गर्नु।’ –प्रजिअ दाहालले भन्नुभयो ।

उपत्यकाका काठमाडांै, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयले चाडबाडसम्म जोरबिजोर नियमलाई यथावत् राख्ने जनाएको छ । सरकारले अर्को आदेश नदिएसम्म जोरबिजोर प्रणाली यथावत् रहने प्रजिअ दाहालले बताउनुभयो । प्रशासनले अत्यावश्यकबाहेक जोर गते जोर र बिजोर गते बिजोर नम्बरको सवारी साधन सञ्चालन गर्न निर्देशन दिएको छ ।

ट्राफिक प्रहरीले सडकमा नियम उल्लंघन गर्ने सवारी साधनको संख्या अत्यधिक बढ्न थालेपछि हिजो मंगलबारबाट थप कडाइ गरेको हो ।

यसैबीच महाशाखाले एक दुई दिनभित्र चाडबाड लक्षित सवारी सुरक्षा योजना सार्वजनिक गर्ने तयारी गरेको छ । एसएसपी ढकालले उपत्यका केन्द्रित सवारी सुरक्षा योजना अन्तिम चरणमा रहेको बताउँदै एक दुई दिनमै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

प्रहरीले सवारी चाप हुने स्थान बसपार्कमा थप प्रहरी परिचालन गर्नेछ । त्यस्तै बढी भाडा असुल्नेलाई पक्राउ गरी कारबाही गर्न अनुगमन टोली खटाउनेछ । उपत्यका बाहिरिने र छिर्ने मुख्य नाकामा चेक प्वाइन्ट राख्ने जनाएको छ । यो वर्ष राजधानी छाड्नेको संख्या घट्ने अनुमान गरे पनि बढी भाडा लिने सवारीलाई नियन्त्रण गरी कारबाही गर्ने मुख्य लक्ष्य प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्