१९ असोजबाट तातोपानी नाका खुल्ने

स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिने



नानीराम नेपाल, सिन्धुपाल्चोक

लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएको छ । मंगलबार मितेरी पुलमा सम्पन्न दुई देशका अधिकारीबीचको बैठकले १९ असोजबाट नाका सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नाका सञ्चालन गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

मंगलबारको द्विदेशीय अधिकारीबीचको बैठकमा भएको सहमतिअनुसार १८ असोजमा चीन क्षेत्रको जाङमु पोर्ट सञ्चालनमा आउने र भोलिपल्टदेखि चिनियाँ सामान तातोपानी नाका हुँदै नेपाल भित्रिनेछन् । ‘१९ गतेदेखि धमाधम सामान आउन थाल्नेछन्।’ –बैठकपछि प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो ।

नाका सञ्चालनका लागि चिनियाँले स्वास्थ्य सुरक्षाको सवाललाई गम्भीररूपमा लिन र ‘प्रोटोकल’ पूरा गर्न आग्रह गरेका छन् । सामान आयातका लागि जाने चालक, सहचालक र लोडर मजदुरका अनिवार्य पीसीआर गरिनेछ । चालक सहचालक र मजदुरसमेत गरी एक सिफ्टमा २९ जनासम्म नेपाली रहनेछन् । चिनियाँले नाका सञ्चालन भएपछि ५÷५ दिनमा नाकामा खटिने चालक, सहचालक र मजदुरहरूको पीसीआर गर्ने सहमति भएको छ ।

पहिलो समूहका लागि नेपालतर्फ चालक, सहचालक र मजदुरहरू तयारी अवस्थामा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नेपाल चीनको प्रमुख व्यापारीक नाका सञ्चालनमा आउन लागेसँगै चिनियाँ क्षेत्रमा अलपत्र परेको नेपाली व्यापारीका सामान नेपाल भित्रिने विश्वास लिइएको छ ।

२०७१ साउन १७ को जुरेपहिरोले तातोपानी नाकाको व्यापारमा धक्का लाग्यो । त्यसपछि २०७२ को विनाशकारी भूकम्पले सीमाक्षेत्र तहसनहस बनेपछि तातोपानी नाका पूर्णतया बन्द भएको थियो । २०७३ को भोटेकोसी बाढीले नाकाक्षेत्रको सडक क्षतविक्षत बनाइदिएका कारण नाका सञ्चालनमा थप कठिनाइ थपिएको थियो ।

तातोपानीतर्फ नेपालले अघोषित नाकाबन्दीकै नियति भोग्दै ४ वर्षपछि २०७६ जेठ १५ मा निकै तामझामका साथ नाका सञ्चालनमा त ल्याइयो तर तातोपानीबाट अपेक्षाकृत व्यापारीक चहलपहल हुन सकेन ।
पछिल्ला बाढीपहिरोले बाह्रबिसे तातोपानी खण्डको सडक क्षतविक्षत छ । तत्काल नाका सञ्चालनमा ल्याउनका लागि सडक स्तरोन्नति गर्नुपर्ने देखिन्छ । ‘सडक विभागले बाह्रबिसे तातोपानी खण्डको सडक सहज बनाउनेछ, त्यसो हुँदा सडकको समस्या रहँदैन।’ –प्रजिअ ढकालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्