टेण्डरकोे ८ महिना बितिसक्दा पनि काम सुरु भएन



यमलाल भुसाल, बुटवल ।

के तपाइँ सवारी दर्ता, नामसारी वा नवीकरणका लागि यातायात व्यवस्था कार्यालय, रुपन्देहीको मणिग्राम जाँदै हुनुहुन्छ भने एकपटक सोचेर मात्र घरवाट निस्कनु होला ।

उक्त कार्यालय जानै परे बुट लगाएर मात्र जानु होला। किनकी यहाँको कार्यालय परिसर पुरै तलाउ सरह र हिलाम्मे रहेको छ। कार्यालय पुगेर लेखापढी व्यवसायीको सहयोग लिनुपरे हिलोमै उभिएर सेवा लिनुपर्ने बाध्यता रहेको छ ।

सरकारलाई कर तिर्न जाँदा पनि हिलो र पानीमा डुबेर हिलै भएर जानुपर्ने अवस्था रहेछ, एकजना सेवाग्राही देविराम शर्माले भन्नु भयो–सेवाग्राहीले सजिलोसँग सरकारलाई कर तिर्न पनि पाउँदैनन्, सास्ती पाएर कर तिर्नु पर्ने विवशता देख्दा जोकोहीको पनि मन खिन्न हुने गर्दछ ।

शर्मा त एउटा प्रतिनिधीपात्र मात्र हुन उक्त कार्यालयमा जाने जो कोहीको गुनासो र पीडा एउटै छ । कार्यालय परिसर पानीमा डुबेका कारण सेवाग्राहीलाई असहज हुँदा पनि व्यवस्थापनमा चासो नदेखाएकोमा आम सेवाग्राहीले असन्तुष्टि व्यक्त गर्ने गरेका छन ।

हालैको अविरल वर्षाका कारण यातायात क्षेत्र व्यवस्थित गर्न बनेको कार्यालय परिसर आफै अस्त व्यस्त भएको छ।  कार्यालय परिसर हिलाम्मे र जलाशय युक्त बनेको छ। परिसरमा डुबान हुँदा सेवा लिने र दिने दुवैलाई सास्ती भएको छ। एकातिर हिलाम्मे परिसर छ त्यसमाथि न दुरी कायम छ न स्वास्थ्य सुरक्षा मापदण्डको पालना जसका कारण कोरोना संक्रमणको जोखिम उच्च छ।कार्यालय जान आउन पनि जुत्ता खोलेर जानुपर्ने अवस्था रहेको यातायात व्यवस्था कार्यालयका प्रमुख जनार्दन अधिकारीले बताउनु भयो ।

कार्यालय प्रमुख अधिकारीका अनुसार कार्यालय परिसरपूरा ताल बनेको छ, जुता नखोलिकन आउन जान सकिने अवस्था छैन, यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी तथा नविकरणको लागि दर्जनौ सवारी साधनहरु आउँछन्।दर्ता र नामसारीको लागि प्राविधिकहरुले सवारी चेकजाँच पनि गर्नुपर्दछ। कार्यालय परिसर जलासय बन्दा सवारीसाधनहरु सडकभरि रहेका छन्।

हाम्रा प्राविधिकहरुलाई सवारी चेकजाँच गर्न पनि पर पर पुग्नुपर्छ’–उहाँले भन्नु भयो–‘सडकभरि गाडी हुँदा ओहोरदोहोर गर्ने ठाउँ भएन भनेर वरिपरिका गाउँले आएर गुनासो गर्ने गर्नु भएकोे छ।कार्यालय परिसरमा माटो पुर्नको लागि गत फागनुमा टेण्डर भएपनि ठेकदारले काम नगरेको कार्यालय प्रमुख अधिकारीले बताउनु भयो।त्यो ताल पुर्ने भनेर सहरी विकास तथा भवन कार्यालय भैरहवाले टेण्डर निकाल्यो, ठेकेदारसँग सम्झौता भयो, तर उसले कामै गरेन’–उहाँले भन्नु–‘त्यो पुरेको भए गाडी बाटोमा राख्नुपर्ने थिएन।’शहरी विकास तथा भवन कार्यालय रुपन्देहीका प्रमुख गोविन्द गौतमले लकडाउनको कारण ठेकदारले काम गर्न नपाएको बताउनु भयो ।

असार मसान्तमा सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो, लकडाउनले काम गर्ने परिस्थिती थिएन’–उहाँले भन्नु भयो–‘अहिले खेतमा धान भएकाले माटो निकाल्न समस्या छ, १०–१५ दिनमा काम सुरु गर्छु भनेर ठेकदारले भनेको छ।’सरकारको निर्णयअनुसार पुस मसान्तसम्म म्याद थपिएकोले अब ठेकदारलाई जसरी पनि काम गराउने गौतमले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्