पर्वतको पर्यटकीय गाउँ जोड्ने मोटरेबल पुल ५ वर्षमा पनि सम्पन्न भएन



न्युज अफ नेपाल, पर्वत । 

पर्वतको पर्यटकीय गाउँ भूकदेउराली जोड्न निर्माण थालिएको मोटरेबल पुल पाँच बर्षमा पनि पुरा हुन सकेको छैन ।

सम्झौताको दुई बर्षमै सक्ने लक्ष्य सहित थालिएको भुरुङ्गदीखोला मोटरेबल पुल ठेकेदारको लापाबार्हीका कारण पाँच बर्ष पनि पुरा नभएको हो ।

पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने यो पुलको पाँच बर्षमा १० प्रतिशत पनि काम भएको छैन । खोलाको एकातिर पुलको केही संरचना तयार भएपनि अन्य काम हुन सकेको छैन । सरकारले ५ वर्षअघि निर्माण शुरु गरेको मोटरेबल पुल निर्माणका लागि २०७२ सालमै ६ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएपछि तत्कालै निर्माण थालिएपनि आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म पुलको काम अगाडी नबढेकोमा स्थानियबासी रुष्ट बनेका छन ।

पुल निर्माणका लागि जनप्रतिनिधीहरुले धेरै पटक स्थलगत अनुमगन, सडक डिभीजन तथा निर्माण ब्यबसायीलाई उपस्थित गराएर काम शुरु गराउने सहमति गराएपनि प्रगति भने हुन सकेको छैन । ‘धेरैपटक हामीले पुलको बारेमा सरकारी निकायमा कुरा राखेका छौं,’ स्थानिय शुक्रराज ढढुंगानाले भन्नुभयो ‘पुलको काम रोकिएको बारेमा गुनासो गरेको थाहा पाए उल्टै ठेकेदारले धम्की दिन्छन् ।’ पुल बन्ने चाहना पूरा नहुँदा आपूmहरु निराश भएको उहाँको भनाई छ । पुल अलपत्र हुँदा बर्खामा सडकमा गाडी नै गुड्दैनन् भने हिउँदमा खोलामा पसेर सवारी वारपार गर्छन् ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता मौखिक रुपमा व्यक्त गरे पनि निर्माण कम्पनीले काम अघि नबढाएको जानकारी दिनुभयो । ‘पटक पटक ताकेता गरेकै छौं,’ लम्सालले भन्नुभयो ‘काम अघि बढाउन निर्माण व्यवसायी गम्भीर देखिएनन् । ताकेता गर्दागर्दै अटेरी गरेपछि सम्झौता रद्द गर्ने तयारी भएको छ ।’

स्थानीय तहको गठनअघि नै निर्माण शुरु भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी निकै ठूलो हैरानी बेहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल बताउँनुहुन्छ । स्थानीय तह, संघीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटक पटक अटेर गरेकाले यस्तो समस्या भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्