आर्मेनिया–अजरबैजान युद्ध विकराल रुप लिँदै, हालसम्म ८० को मृत्यु



यरेवान (एजेन्सी)

ककेसस क्षेत्रका दुई देश आर्मेनिया र अजरबैजानबीच विवादास्पद क्षेत्र नागोर्नाे काराबाखलाई शुरु भएको युद्धले भिषण रुप लिइरहेको छ । सोमबार पनि जारी युद्धमा दुबै देशले एक अर्कामाथि ट्याक, तोप र हेलिकप्टरबाट घातक हमला गरेको आरोप लगाएका छन् ।

यस युद्धमा अहिलेसम्म ८० भन्दा धेरैको मृत्यु भएको र सयौं संख्यामा घाइते भएको बताइएको छ । युद्धले विकराल रुप लिइरहँदा ती देशका समर्थनमा रहेका रुस र टर्की पनि यस युद्धमा मुछिन सक्ने सम्भावना बढ्दै गएको छ ।

आर्मेनियाली फौजले सोमबार विहानै टारटार सहरमा गोलाबारी सुरु गरेको अजरबैजानको रक्षा मन्त्रालयले दावी गरेको छ । यसबीच युद्ध रातभरी जारी रहेको र अजरबैजानले विहानै घातक हमला गरेको आर्मेनियाली अधिकारीहरुले बताए ।

दुबै पक्षबाट ट्यांंक, तोप, ड्रोन र लडाकु विमानद्वार हमला भइरहेको छ । अजरबैजानका रक्षा मन्त्रालयले इन्टरफ्याक्स समाचार एजेन्सीलाई युद्धमा आर्मेनियाका ५ सय ५० भन्दा धेरै सैनिक मारिएको जानकारी दिएको छ ।

यसबीच आर्मेनियाका अधिकारीहरुले उक्त दावी अस्विकार गर्दै अजरबैजानका चार हेलिकप्टर खसालेको बताए । सोमबार विहान लडाई भएको इलाका अजरबैजानको हो तर यहाँ सन् १९९४ देखि आर्मेनिया समर्थित बलको कब्जामा छ । यस संकटलाई ध्यानमा राखी अजरबैजानले केही क्षेत्रमा सैन्य कानुन लागु गरेको छ र केही प्रमुख सहरमा कफ्र्यु आदेश पनि जारी गरेको छ ।

यसबीच आर्मेनिया र अजरबैजानमा बढ्दो युद्धले रुस र टर्की यसमा कुद्ने खतरा उत्पन्न भएको छ । रुसले आर्मेनियालाई समर्थन गरिरहेको छ भने अजरबैजानलाई नेटो सदस्य राष्ट्र टर्की र इजरायलको समर्थन रहेको छ ।

न्युयोर्क टाइम्सको समाचार अनुसार आर्मेनिया र रुसबीच रक्षा सन्धि छ र यदी अजरबैजानको यो हमला आर्मेनियाको जमिनमा भए भने रुस मोर्चा सम्हाल्न आउनु पर्ने हुन्छ । यसबीच आर्मेनियाले आफ्नो जमिनमा पनि केही हमला भएको बताएको छ ।

अजरबैजानको पक्षमा रहेको टर्कीले यस संकटको शान्तिपुर्ण समाधान हुने तर अहिलेसम्म आर्मेनियाली पक्ष यसका लागि इच्छुक नदेखिएको टिप्पणी गरेको छ । आर्मेनिया वा कुनै अन्य देशको आक्रामक कारवाही विरुद्ध अजरबैजानका जनताको साथमा उभिने टर्कीले जनाएको छ ।

रुस र टर्कीबीच यसअघि नै लिबिया र सिरियाको गृहयुद्धमा जम्काभेट भइसकेका छन् । त्यसपछि पनि दुई देशबीच ब्यापारिक सम्बन्ध भने कायम छ । टर्कीले अमेरिकालाई असन्तुष्ट पार्ने गरी रुसबाट एस ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किनेको थियो ।

हाल भइरहेको युद्धमा टर्कीमा बेनेका युद्धक ड्रोन विमानले नागोर्नो काराबाखमा आर्मेनियाली ट्यांक ध्वस्त पारिरहेका छन् । रुस यसर्मा मुकदर्शक भएर नबस्ने र कडा कदम चाल्न सकिने विशेषज्ञहरुले आशंका ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्