काभ्रेमा उज्ज्वल भविष्य खोज्दै अभिभावकविहीन



मोतीराम तिमल्सिना, काभ्रे
एक हजार किलोमिटरको यात्रापछि ६ जना बालिका उज्ज्वल भविष्यका लागि एसओएस बालग्राम आइपुगेका छन् । बैतडी जिल्लाको दशरथचन्द्र नगरपालिका–१० घर भई अभिभावकविहीन भएका एकै परिवारका ६ जना काभ्रे आइपुगेका हुन् ।
‘१५ वर्षदेखि चार वर्षसम्मका दिदीबहिनी एसओएस बालग्रामका छोरी भएका छन्’, बालग्राम निर्देशक सुरेन्द्र आम्गाईंले भन्नुभयो–‘उनीहरू जस्तै विपद्मा परेका यही वर्ष मात्रै २० जना थपिएका छन् । यी नानीहरूसहित बालग्राम १ सय २० छोराछोरी, २० जना आमासहित १ सय ५० जनाको ठूलो परिवार बनेको छ ।’ धनगढी र सुर्खेतमा रहेको एसओएस बालग्राममा स्थान अभाव भएपछि काभ्रेको टोली बैतडी पुगेको थियो । दुई वर्षदेखि अभिभावकविहीन सन्तानको रेखदेख र अभिभावकत्व नभएको समाचार सार्वजनिक भएपछि एसओएस बालग्राम काभ्रेले अभिभावकत्व ग्रहण गर्ने चासो राखेको थियो । स्थानीय प्रशासन, नगरपालिका र आफन्तसमेतले बालग्राम उपयुक्त संस्था भएकाले जिम्मेवारी प्रदान गर्न उपयुक्त हुने निर्णय भएपछि गत बिहीबार बालिकाहरू एसओएस बालग्राम काभ्रेको जिम्मेवारीमा हस्तान्तरण गरिएको थियो ।
बालग्रामका निर्देशक सुरेन्द्र आम्गाईं, नायव निर्देशक विनोदमणि भट्टराई, सहायक निर्देशक प्रकाश अर्याल र कमल भगतको टोलीले सोमबार काभ्रेबाट बैतडी पुगेर आइतबार बालग्राम ल्याइपु¥याएका हुन् । राजुराम लावड र मीनादेवी लावडको कोखबाट जन्मेका ६ सन्तान अभिभावकविहीन बनेका हुन् । नीलम १५ वर्षकी भइन् । उनी कक्षा ८ मा पढ्दै थिइन् । इन्द्रा १३ वर्षकी भइन् । पार्वती ११ वर्षकी भइन् । इन्द्रा र पार्वती कक्षा ५ मा अध्ययन गर्छन् । लक्ष्मी १० वर्षकी छिन् । बिन्दुकुमारी ८ वर्षकी भइन् । लक्ष्मी र बिन्दु कक्षा ३ मा अध्ययन गर्दै छन् । माया चार वर्षकी भइन् । नीलमले घर नजिकै रहेको रातमाटे माविमा सबै बहिनीलाई विद्यालय लैजाने गरेकी थिइन् ।
माया ११ महिनाको हुँदै थिइन् आमा मीनादेवी छिमेकी देश भारत नुन–तेल किन्न बजार गएकी थिइन् । आजसम्म फर्किएकी छैनन् । सम्पर्कसमेत छैन । भारतको उत्तराखण्डमा रहेको मामाघरमा समेत पटक–पटक सोधखोज भयो तर मीनादेवीको अत्तोपत्तो छैन । बुबा राजुराम ज्याला मजदुरी गर्दै आएका थिए । दुई वर्षअघि दमको रोगबाट निधन भएपछि अभिभावकविहीन बालिकालाई नगरपालिका, स्थानीय संघ–संस्थाले सहयोग गरिरहेको थियो । अध्ययन र शिक्षाका लागि सहयोग पु¥याए पनि अभिभावकको संरक्षण नहुँदा भविष्य अन्धकार थियो । स्थानीयहरूले संकलन गरेको १ लाख ६५ हजार रुपियाँ नीलमसहितको नाममा खाता खोलेर राखिएको छ । १६ वर्ष पुगेपछि मात्रै उनीहरूले उक्त रकम चलाउन पाउने छन् । नीलमले बालग्रामबाट प्राप्त ज्ञान र संरक्षणलाई समुदायमा प्रयोग गर्ने योजना रहेको बताउनुभयो । संकटमा उद्धार गर्ने बालग्राम र सहयोग गर्ने सम्पूर्णलाई नीलमले धन्यवाद दिनुभयो ।
बालिकाहरुले एसओएस बालग्रामको मनोहरा घरमा आमा अम्बिका सिंखडाको संरक्षकत्व पाएका छन् । ‘बालग्रामका छोरीहरुको शिक्षा र दीक्षासमेत हामी गर्नेर्छाैं’, बालग्राम निर्देशक अम्गार्इंले भन्नुभयो–‘बालग्राम घर हो, घरमा भएका सन्तानको सबै जिम्मेवारी हाम्रो हो ।’ शुरूमा शहरको रहनसहन र गाडी चढेका मान्छे देखेर बालिकाहरु अचम्ममा परे । उनीहरूको बिदाइमा स्थानीय प्रशासन, स्थानीय सरकार तथा सहयोगीहरूले आँशु झारेका थिए ।
त्यसै गरी, सिन्धुपाल्चोकको लिदी, जलवीरेमा गएको पहिरोका कारण अभिभावकविहीन १० बालबालिका र दोलखाको चरिकोटमा अभिभावकविहिन भएका एकै परिवारका चार बालबालिकालाई एसओएस बालग्राम काभ्रेले संरक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्