विद्यालय सञ्चालन गर्न कार्यविध



नेपाल समाचारपत्र, बारा

निजगढ नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालय सञ्चालन गर्न कार्यविधि तयार पारेको छ । नगरपालिकाले प्रत्यक्ष सिकाइ कार्यविधि–२०७७ तयार पारेर सोहीअनुसार विद्यालय सञ्चालन गर्ने तयारी गरेको हो ।

‘कार्यालयले तयार पारेको कार्यविधि नगर कार्यपालिका बैठकले पारित गरेपछि कार्यान्वयमा आउनेछ’, नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले भन्नुभयो– कार्यविधिले प्रत्यक्ष सिकाइ क्रियाकलाप सञ्चालन गर्नुअघि र सिकाइ क्रियाकलाप सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्डसमेत व्यवस्था गरेको छ । जसअनुसार विद्यालयले थर्मल गनको प्रयोग गरेर विद्यार्थीको तापक्रम मापन गर्नुपर्ने र मास्क लगाएर मात्र प्रवेश गर्नुपर्नेछ । ’

विद्यालयले स्यानिटाइजर र साबुनपानीले हात धुने व्यवस्था गर्ने मिलाउने, विद्यार्थीलाई आकस्मिक सेवाका लागि विद्यालय हाताभित्र प्राथमिक उपचारको व्यवस्था गर्न र विद्यालय कक्षाकोठा, वाचनालय, प्रयोगशाला, खानेपानी धारा–ट्यांकी, शौचालयलगायत विद्यालय हाताको सरसफाइ तथा निर्मलीकरण गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ ।

कक्षा सञ्चालन गर्नुअघि विद्यालय व्यवस्थापन समिति, अभिभावक र सरोकारवालाहरुको भेलाबाट विद्यालय सञ्चालनका लागि लिखित प्रतिवद्धता लिनुपर्ने र सोको कागजात कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था पनि कार्यविधिले गरेको छ ।

त्यसै गरी, प्रअ र शिक्षकहरूको पीसीआर जाँच गराउनुपर्ने पनि भनिएको छ । यसका लागि आइतबार नै स्वास्थ्य शाखामार्फत ३८ जना शिक्षकको स्वाब संकलन भइसकेको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लामिछाने बताउनुहुन्छ ।

त्यसै गरी, कक्षाकोठामा एउटा बेन्चमा बढीमा २ जना विद्यार्थी मात्रै राख्नुपर्ने, विद्यालय हाताभित्र भौतिक दूरी कायम गर्नुपर्ने, विदाको दिनमा पनि कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ ।

विद्यालयहरूले मापदण्ड पूरा गरे÷नगरेको हेर्न र आवश्यक कारबाहीका लागि नगर प्रमुख संयोजक रहेको एक अनुगमन समितिको व्यवस्था पनि कार्यविधिमा छ ।

संक्रमण जोखिम कम गर्दै प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न कार्यविधि तयार पारिएको र सोहीअनुसार नगरभित्रका विद्यालय सञ्चालनमा आउने निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

उहाँले नगर कार्यपालिकाले पारित गरेपछि मात्रै कार्यविधि कार्यान्वयमा आउने र तोकेअनुसारको मापण्ड पूरा गर्ने विद्यालयलहरूलाई मात्र कक्षा सञ्चालनको अनुमति प्रदान गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्