नदीले धार परिवर्तन गर्दा सडकपुल जोखिममा



पुष्पा थापा, सर्लाही
लखन्देही नदीले धार परिवर्तन गरी धमाधम जमिन कटान गर्दा पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लखन्देही नदीको पुल तथा सडक जोखिममा परेको छ । अविरल वर्षासँगै आएको बाढीले धार परिवर्तन गरेको हो ।
बाढीका कारण नदीले धार परिवर्तन गरी पूर्व–पश्चिम जोड्ने लखन्देही नदीको पक्की पुलमा क्षति पु¥याउन थालेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुरका इन्जिनियर रमेशकुमार गोहितले बताउनुभयो ।

‘बाढीका कारण पुल र सडक दुवै भत्किने खतरामा छ । अहिले सडक डिभिजन कार्यालयसँग तत्काल पुल र सडक बनाउने बजेट छैन । नदीलाई पुरानै ठाउँमा फर्काउन तटबन्धलगायत रक्षात्मक पूर्वाधारको काम गर्नुपर्छ । कटान जारी रहेको कारण हामीले पुल र सडकको दुवै जोखिम मूल्याकन गरिसकेका छौं’, इन्जिनियर गोहित भन्नुहुन्छ– ‘सडकको छेउमा नदी आइपुग्न १७÷१८ मिटर मात्र बाँकी छ । कटान रोक्न चाँडै बजेटको तयारी गरेर काम शुरू गर्छौं ।’

नदीकटान रोक्नका लागि हरिवन नगरपालिकाले दुई दिनदेखि जेसीभी प्रयोग गरे पनि नदीको पानी फर्काउन सकेको छैन । नदीमा पानी धेरै भएकाले रोक्न नसिकिएको नगरप्रमुख गणेशप्रसाद प्रसाईंको भनाइ छ । नदीकटान तत्कालै नरोके नदी छेउछाउका करिब १ सय ५० घर जोखिममा पर्ने स्थानीयको भनाइ छ ।

‘अहिले लखन्देही नदीमा खास ठूलो बाढी आएको छैन, बाढी आयो भने एकै छिनमा पुल र बाटोलाई अलग बनाउँछ, त्यसो भयो भने पूर्व–पश्चिम राजमार्ग नै बन्द हुन्छ ।’ –स्थानीय सौकत अली बताउनुहुन्छ । लखन्देही नदीको कटान रोक्न प्रत्येक वर्ष जनताको तटबन्ध र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले करोडौं रुपियाँको बजेट खर्च गरिसकेको छ ।

प्रत्येक वर्ष बाढीले बालुवाको ड्याम भत्काउने गरेको स्थानीय अलीको कथन छ । लखन्देही नदीको पुल र सडक दुवै जोखिममा परेकाले हरिवन नगरपालिकाले सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर र जनताको तटबन्ध हरिपुरमा जानकारी गराइसकेको हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईंले जानकारी गराइसकेको बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेखोलादेखि बागमती नदीसम्मका अधिकांश पुल बाढी तथा ठूला सवारीका कारण जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्