राजस्थानको आईपीएलमा नयाँ कीर्तिमान



शारजाह, (एजेन्सी)

राजस्थान रोयल्सले २ सय २४ रनको विशाल लक्ष्य पछ्याएर इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ कीर्तिमान रचेको छ।

आइतबार राति शारजाहको मैदानमा भएको खेलमा रोयल्सले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले हराएको हो। सो खेलमा किंग्स इलेभेनले २ सय २४ रनको लक्ष्य दिएको थियो। तर, रोयल्सले अन्तिम ५ ओभरमा ८६ रन जोडेर जित हात पारेको थियो। यो आईपीएलमा हालसम्मकै ठूलो लक्ष्य पार गरेको कीर्तिमानी हो।

राहुल टेवाटियाले १८औं ओभरमा ५ छक्का प्रहार गरेपछि खेल पन्जाबबाट फुस्केको थियो। टेवाटियाले पन्जाबका बलर सेल्डन काटरेलको उक्त बलिङमा ३० रन बटुलेका थिए। उनी ५३ रनमा आउट भएका थिए।

त्यसपछि आएका जोफ्रा आर्चरले ३ बलमा २ छक्कासहित १३ रन जोडेपछि रोयल्सले ३ बल बाँकी राखेर जित हासिल गरेको थियो। यसअघि सन्जु समेसनले ४२ बलमा ८५ रन र स्टिभ स्मिथले २७ बलमा ५० रन जोडेर रोयल्सको जितको आधार तयार गरेका थिए।

सेमसन आउट हुँदा टेवाटिया मात्र १९ बलमा ८ रन बनाएर क्रिजमा थिए। मोहमद सामीको बलमा सेमसन आउट भएपछि टेवाटियाले ७ छक्का प्रहार गर्दै खेलको नतिजा आफ्नो टोलीतिर ल्याए। पहिले ८ रन बनाएका उनले पछि ७ छक्काको सहयोगमा १२ बलमा ४५ रन जोडेका थिए। सेमसनले पनि ७ छक्का नै प्रहार गरेका थिए।

आईपीएलमा योभन्दा अघि २००८ मा रोयल्सले नै ठूलो लक्ष्य भेटाएको कीर्तिमान राखेको थियो। रोयल्सले डेक्कन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य भेटाएर आईपीएलमा ठूलो लक्ष्य पार गरेको कीर्तिमान रचेको थियो। १२ वर्षपछि रोयल्सले सो कीर्तिमानमा सुधार गरेको छ।

पन्जाबको ब्याटिङमा मायन्क अग्रवालले १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए। ४५ बलमा शतक लगाएका उनी किंग्सको तर्फबाट जारी आईपीएलमा शतक हान्ने दोस्रो खेलाडी हुन्। यसअघिको खेलमा शतक हानेका कप्तान लोकेश राहुलले ६९ रनको योगदान दिए। लोकेश र मायन्कले ओपनिङ साझेदारीमा १ सय ८३ रन बटुलेका थिए। यो आईपीएलमा तेस्रो सर्वाधिक साझेदारी हो।

आईपीएलमा सबैभन्दा बढी साझेदारीको कीर्तिमान जोनी बेयरस्टो र डेभिड वार्नरको नाममा छ। सनराइजर्स हैदराबादका लागि खेलेका उनीहरूले २०१९ मा बेंगलोरविरुद्ध सबैभन्दा बढी १ सय ८५ रनको साझेदारी गरेका थिए। यो सूचीअन्तर्गत दोस्रो नम्बरमा कोलकाता नाइट राइडर्सका लागि गौतम गम्भीर र क्रिस लिनले २०१७ मा गुजरातविरुद्ध १ सय ८४ रन जोडेको साझेदारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्