बार्सिलोनाको विजयी शुरुआत



लन्डन, (एजेन्सी)

स्पेनिस ला लिगा २०२०/२१ अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाले विजयी शुरुआत गरेको छ।
आइतबार राति भएको यस सिजनको पहिलो खेलमा बार्सिलोनाले भिया रियलमाथि ४–० को एकपक्षीय जित निकाल्दै सुखद शुरुआत गरेको हो।

आफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको उक्त खेलमा बार्सिलोनालाई जिताउन युवा स्टार अन्सु फातीले दुई गोलको योगदान गरे।

बार्सिलोनाका कप्तान लिआनेल मेसीले भने सिजनको पहिलो खेलमा नै पेनाल्टीमार्फत गोलको खाता खोल्न सफल भए। थप एक गोल भने बार्सिलोनाले उपहारमा पाएको थियो। खेलमा भएका चारवटै गोल पहिलो हाफमा भएका थिए।

त्यसैगरी, तीन दिनअघि मात्रै स्पेनिस क्लब बार्सिलोनाबाट एटलेटीको मेड्रिडमा अनुबन्ध भएका उरुग्वेली फरवार्ड लुइस स्वारेजले नयाँ क्लबको डेब्यू खेलमै सनसनी मच्चाएका छन्। एटलेटीकोले नयाँ सिजन २०२०/२१ को पहिलो म्याचमै ग्रानाडालाई ६–१ ले सहजै हराउँदा स्वारेजले दुई गोल गर्नुका साथै एक गोलमा असिस्ट गरेका थिए। एटलेटीकोको घरेलु मैदानमा भएको उक्त खेलमा स्वारेजले दोस्रो हाफमा आफ्नो चमत्कार देखाएका थिए।

खेलको नवौं मिनेटमा डग्लस कोस्टाले पहिलो गोल गरेर घरेलु टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको १६औं मिनेटमा एटलेटीकोले पेनाल्टी पाए पनि साउलले गोल गर्न नसकेपछि पहिलो हाफसम्म एटलेटीको एक गोलले मात्र अघि रहेको थियो।

तर, दोस्रो हाफ शुरू भएको दुई मिनेटमै कोरेरियाले जुआओ फेलिक्सको पासमा गोल गरेर एटलेटीको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ६५औं मिनेटमा फेलिक्सले नै कोरेरियाको पासमा गोल गर्दै खेललाई ३–० को स्थितिमा पु¥याएका थिए।

खेलको ७०औं मिनेटमा स्वारेज डग्लस कोस्टालाई स्थान्नान्तरण गर्दै मैदान छिरेका थिए। मैदान छिरेको दुई मिनेटमै उनले मार्कोस लोरेन्टोको गोलमा असिस्ट गर्न सफल भए। लोरेन्टो पनि गोल गर्नुभन्दा एक मिनेटअघि मात्रै मैदान प्रवेश गरेका थिए।

खेलको ८५औं मिनेटमा लोरेन्टोको क्रस पासमा स्वारेजले डि बक्सभित्रबाट हेडमार्फत गोल गरेर टिमलाई ५–० को अग्रता दिलाए। ८७औं मिनेटमा ग्रानाडाका लागि जोर्गे मोलिनो भिडालले एक गोल फर्काउन सफल भए। तर, थपिएको इन्जुरी समयको तेस्रो मिनेटमा स्वारेजले रिबाउन्ड बलमा सजिलै गोल गरेर टिमलाई ६–१ को फराकिलो जित दिलाए।

आइतबारै भएको अर्को खेलमा सेभियाले पनि नयाँ सिजनको पहिलो खेलमै सहज जित निकालेको छ। सेभियाले यसै सिजन शीर्ष लिगमा बढुवा भएको क्याडिजमाथि ३–१ गोलअन्तरको जित निकाल्यो।

गत सिजन युरोपा लिगको च्याम्पियन बनेको सेभियाले तेस्रो साताको खेलबाट मात्रै नयाँ सिजनको थालनी गरेको हो। अवे मैदानमा सेभियालाई जिताउन तीनजना खेलाडीले गोल गरे। जसमा हालसालै क्लबमा अनुबन्ध भएका इभान राकिटिकले पनि डेब्यू खेलमै गोल गर्न सफल बने। ६ वर्षपछि उनी पुनः बार्सिलोना छाडेर सेभिया नै फर्किएको पहिलो खेलमा गोल गर्न सफल भएका हुन्।

सेभियाका लागि खेलकोे ६५औं मिनेटमा लुका डे जोङले पहिलो गोल गरेका थिए। त्यसपछि सेभियाले दुई गोल ९० मिनेटपछि गरेको थियो । ९०औं मिनेटमा मुनिएर हदादीले टिमका लागि दोस्रो गोल गरे। त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा इभान राकिटिकले हदादीकै पासमा गोल गरेपछि खेल सेभियाले ३–१ ले जित्यो।

प्रतिक्रिया दिनुहोस्