पूर्वरूपकै विहार पुनर्निर्माणमा जोड



काठमाडौं, (नेस)

काठमाडौं महानगरपालिका–२१ लगनटोलस्थित शिलखानामा रहेको मल्लकालीन बौद्ध विहारलाई पूर्ववत् रुपमै पुनर्निर्माण गर्न जोड दिइएको छ ।

काठमाडौं महानगरपालिकाले सो स्थानमा खुला पार्क निर्माण गर्न लागेकाले त्यसको विरोध गर्दै उपत्यका नेवाः बचाउ अभियानले पूर्ववत् रुपमै मल्लकालीन बौद्ध विहार पुनर्निर्माणमा जोड दिएको हो ।

२०७२ सालको महाभूकम्पपछि त्यहाँका सम्पूर्ण भग्नावशेष सफा गरी पूरा क्षेत्रलाई खुला गरिएको थियो । उक्त स्थानमा रहेको पुरानो भवनलाई स्थानीय बोलीचालीमा शिलखाना, भीमसेन थापाका भाइ बस्ने निवास, घोडा राख्ने तबेला आदि भनी सम्बोधन गरिए पनि सो ठाउँ मूलतः एक मल्लकालीन बौद्ध विहार रहेको अभियानले बताएको छ ।

राजा प्रताप मल्लको पालादेखि नै अस्तित्वमा रहेको सो स्थानको विहार कीर्तिपुण्य महाविहार लगं बहाको कचा बहा (शाखा विहार) का रूपमा अवस्थित थियो । लगं बहाकोसँग आबद्ध विहारमध्ये उक्त विहारमा प्रताप मल्लका छोरा नृपेन्द्रमल्ल र चक्रवतीन्द्र मल्लका पालाका दुइटा शिलालेख अहिलेसम्म पनि रहेका छन् ।

विहार अतिक्रमण गरी त्यहाँ निवास निर्माण गरिए पनि ऐतिहासिक विहारका भग्नावशेषहरु भने सो ठाउँमा अझै भग्न अवस्थामा रहेको पाइन्छ । उक्त ठाउँमा विहारभित्र चैत्यहरु, मूर्तिहरु तथा विहारको भगवनाशेषका साथै शिलापत्रहरुसमेत रहेका छन् ।

उक्त ठाउँमा अन्तिम मल्ल राजा जयप्रकाश मल्लले निर्माण गर्न लगाएको उक्त विहार ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । भीमसेन थापाको भाइलाई निर्माण गरिएको निजी निवास र तबेला भन्दा मल्लकालीन बौद्ध विहार ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको कुरालाई नकार्न नसकिने बताइएको छ ।

त्यहाँ निर्माण गरिएको बौद्ध विहार यहींकै स्थानीय जनताको पुख्र्यौली सम्पत्ति पनि हो । त्यसैले सो ठाउँको इतिहास र त्यहाँको सांस्कृतिक सम्पदासमेत सुरक्षित गर्न आवश्यक छ । तसर्थ उक्त ठाउँमा विहार वास्तुकलाअनुसारको पूर्वरुपकै विहार निर्माण गर्नु आवश्यक रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्