एउटै मञ्चमा ५० देशका राष्ट्र गान गाउँदै, विश्व घुम्दै



सिर्जना पन्त, बागलुङ

राष्ट्रियगानसहित विश्वयात्राको अभियानमा रहेका बागलुङका गायक रामजी नेपालीले एकै मञ्चमा ५० देशका राष्ट्रियगान गाएका छन्।

कोरोना महामारीका बीचमा पनि विश्वलाई जोड्न विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाहका लागि स्वास्थ्य सुरक्षासहित नेपाल पत्रकार महासंघ बागलुङले विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेपालीले ५० देशका राष्ट्र गान गाएर सुनाएका हुन्।

सीमित अतिथि र पत्रकारको उपस्थिति तथा भर्चुअल (जुम, युट्युब र फेसबुक) मार्फत प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा गायक नेपालीले १ सय ९४ देशको राष्ट्रिय गान गाएर विश्वका ७ अरब ७६ करोड मानिसलाई नेपालबारे जानकारी दिने अभियान र यात्रामा रहे पनि कोरोना संकटका कारण अहिले गृह जिल्लामा रहेको बताए।

उनले नेपालसहित भारत, चीन, अमेरिका, स्विजरल्यान्ड, फ्रान्स, इटाली, अस्टे«लिया, पाकिस्तान, रसिया, बेल्जियम, पोर्चुगल, कतार बहराइन, सिंगापुर, रसिया, जापान, कोरिया, नेदरल्यान्ड, स्पेन, ब्राजिल, श्रीलंका, बंगलादेश, माल्दिब्स, जर्मनी, थाइल्यान्ड, डेनमार्कलगायतका देशको राष्ट्रियगान गाएर सुनाएका थिए। उनको विश्वका २ सय ३२ देशमा पुग्ने महत्वकांक्षी लक्ष्य छ।

कोरोना संकटअघि गायक नेपालीले विश्वयात्राको अभियानका क्रममा विभिन्न देशको राष्ट्रिय गान गाउँदै फ्रान्स, बेल्जियम, स्पेन, नेदरल्यान्ड र भारतको भ्रमण गरेका थिए। यात्राका क्रममा रहेका नेपालीको बंगलादेश जाने तयारीका बेला कोरोना भाइरसको जोखिम भएपछि यात्रा रोकिएको हो।

नेपालको राष्ट्रिय झण्डा बोकेर राष्ट्र गान गाउँदै विश्वमाझ नेपाललाई चिनाउने अभियानमा रहेको नेपाली बताउँछन्। आफ्नो योजना महत्वकांक्षी भएपनि देशप्रतिको प्रेम र दायित्वबोधले सम्भव हुने उनको अपेक्षा छ। आफ्नो अभियानले राष्ट्र गानमार्फत विश्वको भावना एकजुट हुने भएकाले सबैबाट सहयोग र सद्भाव प्राप्त हुने उनको विश्वास छ।

अब कोरोनापछि अरू देशको यात्रामा जाने उनको योजना छ। सन् २०१५ सालदेखी देशको पहिचानका लागि पृथक भूमिका र योगदान दिने सोचले विभिन्न देशको राष्ट्रियगानसहितको विश्वयात्राको अभियानमा लागेको उनले बताए। गायक नेपालीको अभियान उनको लागि मात्र नभएर राष्ट्रका लागि भएकाले सबैले सहयोग गर्नुपर्ने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्