ओस्कारमा नेपाली फिल्म पठाउन आवेदन खुल्यो



नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३औं ओस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ। समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करको प्रतिस्र्धामा सामेल हुन इच्छुक नेपाली फिल्मकर्मीले असोज २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको ओस्कर कमिटीलाई बुझाउन आह्वान गरेको हो।

यसअघि फेब्रुअरीमा हुँदै ओस्कार आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको छ। नयाँ मितिअनुसार ओस्कर अवार्ड अप्रिल २५ तारिक आइतबार लसएन्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ।

कोरोना महामारीकै कारण ओस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको छ। परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने लचिलो प्रावधान थपिएको छ। अघिल्ला वर्षमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो।

तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि ओस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन्। यसका लागि सम्बन्धित फिल्मले सरकारद्वारा मान्यता दिइएको सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको ओस्कार कमिटीलाई बुझाउनुपर्नेछ।

त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन्।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ। जसमा लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, राजेन्द्र सलभ, लोकेन्द्र पराजुली, राजुविक्रम थापा, चिरञ्जीवी गुरागाईं र सामिप्यराज तिमल्सेना सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्