होम आइसोलेसनमा बस्नु ‘खतरनाक’



बाँके, (नेस)

कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्नु खतरनाक देखिएको छ । दीर्घरोगी र जेष्ठ नागरिकलाई होम आइसोलेसनमा राख्दा अझ जोखिम हुने देखिएको छ ।

सोमबार होम आइसोलेसनमा बसेकी ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । असोज ६ गते कोरोना पुष्टि भएपछि वृद्धा कोहलपुरस्थित होम आइसोलेसनमा बसेकी थिइन् । पित्तथैलीको रोगसँग जुँधिरहेकी वृद्धाको एक्कासि स्वास्थ्यमा गडबडी भएपछि अस्पताल लगिएको थियो । अस्पताल परिसरमा पु¥याउन नपाउँदै उनको मृत्यु भयो ।

स्थायी ठेगाना जाजरकोटको जुनीचाँदी–५ भए पनि उनी कोहलपुरमा बसेकी थिइन् । दुई दिनअघि बर्दियाका बबई क्याम्पसका प्रमुखको पनि उपचारका लागि भेरी अस्पताल, नेपालगन्जमा ल्याइपु¥याउँदा नै मृत्यु भएको थियो । असोज ७ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । ५० वर्षका क्याम्पस प्रमुखको दुई वर्षअघि फोक्सोको क्यान्सरको उपचार भएको थियो ।

सरकारले कोरोनाका बिरामीलाई होम आइसोलेसनको सुविधा दिए पनि पछिल्लो घटनाहरूले त्यो जोखिमपूर्ण देखिएको छ । कोरोना संक्रमितहरू होम आइसोलेसनमा बस्दा जिल्लाका अधिकारीहरूसँग समन्वय गर्नुपर्नेमा कतिपयको हकमा त्यसो गरेको पाइएको छैन ।

सोमबार मृत्यु भएकी ७६ वर्षीया महिलाको हकमा कोहीसँग समन्वय नगरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार, ६० वर्ष माथिकालाई होम आइसोलेसनमा बस्न पाइँदैन ।

कोरोनाले दीर्घरोगी र जेष्ठ नागरिकको ज्यान लिइरहेको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ७ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेमा जिल्लाका १३ जना छन् ।

जिल्लामा अहिलेसम्म एक हजार आठ सय २१ जनालाई कोरोना लागेको छ भने एक हजार चार सय ६३ जना डिस्चार्ज भएका छन् । सोमबार नै २९ जना डिस्चार्ज भएका थिए । बाँकेमा बिरामी निकोदर ८०.३४ प्रतिशत छ । मृत्युदर ०.७१ प्रतिशत र प्रकोपदर ०.३० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्