‘सरकारले सञ्चारमाध्यमलाई उपेक्षा गर्यो’



काठमाडौं, (नेस)

मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापनको बजार विस्तार गर्न सके मात्र सञ्चारमाध्यमको भविष्य सुनिश्चित हुने बताउनुभएको छ ।

नेपाल विज्ञापन संघले मिडिया एलायन्सको नवगठित तदर्थ समितिलाई स्वागतका लागि आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजकर्णिकारले क्लिन फिडको कार्यान्वयनले विज्ञापनको बजार दोब्बर हुने बताउनुभयो । विज्ञापनको बजारलाई थप व्यवस्थित बनाउन नै एलाइन्सको गठन भएको उहाँको भनाइ थियो ।

नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्र रिजाललले निजी सञ्चार माध्यमहरूका लागि अहिले निकै चुनौतीपूर्ण समय भए पनि सहकार्य गरेर अघि बढे समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। संघ सधैं सञ्चारमाध्यमको पक्षमा रहेको उल्लेख गर्दै उहाँले एलायन्ससँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

एलाइन्सका महासचिव लक्षमण हुमागाईंले गणतन्त्रमा सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण भए पनि सरकारले नै सञ्चारमाध्यमलाई उपेक्षा गरेको गुनासो गर्नुभयो । सत्ता बाहिर रहँदा सञ्चारमाध्यमको वकालत गरे पनि सत्तामा पुग्नेबित्तिकै सञ्चारमाध्यमसँग विरोधीझैं व्यवहार गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरूले विज्ञापनविना सञ्चारमाध्यमले स्वच्छ प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए । सञ्चारमाध्यमलाई स्वतन्त्र बनाउन पनि विज्ञापन बजारलाई व्यस्थित बनाउनुपर्ने उनीहरूको भनाइ थियो । सञ्चारमाध्यममा देखिएको समस्या समाधानका लागि सहकार्य गर्ने उद्देश्यसहित गत बुधबार मिडिया एलायन्स नेपाल गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्