अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै

तीन सुरक्षा घेराभित्र छपाइ गरिने



ईश्वरराज ढकाल, काठमाडौं

नेपालमा पहिलोपटक अन्तःशुल्कको स्टिकर छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणालय (सेक्युरिटी प्रेस)मा करिब ७० करोड थान स्टिकर छाप्न लागिएको हो ।

केन्द्रले एक दुई दिनमा नमुना छपाइ गरेर स्वीकृत गराएपछि छाप्ने निश्चित भएको हो । केन्द्रका प्रवक्ता चित्र आचार्यले विभागको डिजाइनअनुसार नमुना स्वीकृत गराएपछि छपाइ शुरू गर्ने जानकारी दिनुभयो ।

विदेशी कम्पनीले छाप्दै आएको अति महत्वपूर्ण स्टिकरको छपाइको टेन्डर रद्द भएपछि जीटुजी प्रक्रियाअनुसार जनक शिक्षा सामग्रीलाई दिन लागेको होे ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले केन्द्रसँग दुई महिनाअघि गरिएको सम्झौताका आधारमा छपाइ गर्न लागिएको जानकारी दिनुभयो ।

विभागले सरकारी निकायसँग प्रतिस्पर्धा गर्न नपर्ने भएकाले केन्द्रको सेक्युरिटी प्रेसमा छपाइ गर्न दिएको उहाँको भनाइ थियो । महाप्रबन्धक कुँवरले केन्द्रले केही दिनभित्र छपाइ शुरू गर्ने बताउनुभयो ।

केन्द्रले विभागले दिएको नमुना र सेक्युरिटी फिचर्सको आधारमा स्टिकर छपाइ गर्ने जनाएको छ । पहिलो चरणमा चुरोट र त्यसपछि अन्य क्षेत्रको स्टिकर छपाइ गर्ने विभागको भनाइ छ । महानिर्देशक कुँवरले पहिलो स्टिकर छपाइको गुणस्तर हेरेपछि अन्य काम दिने बताउनुभयो ।

अति गोप्य सामग्रीका रूपमा रहेको स्किटर छपाइ गर्न तीन घेराको सुरक्षा हुनेछ । छाप्ने प्रेसमा नेपाली सेनाको बटालियन तैनाथ हुनेछ भने दोस्रो र तेस्रो घेरामा सशस्त्र र नेपाल प्रहरी बस्नेछ । छपाइ शुरू भएपछि प्रेसमा अपरेटर र केन्द्रका जिम्मेवारी व्यक्ति र विभागका अधिकारप्राप्त व्यक्ति बस्नेछन् ।

केन्द्रका प्रवक्ता आचार्यले स्टिकर छपाइ गर्न भारतबाट ४० टन अल्ट्रा भ्वाइलेट (यूभी) कागज ल्याइसकेको जानकारी दिनुभयो । सेक्युरिटी फिचर्स रहेको सो कागज टेन्डरबाट खरिद गरिएको हो । यस्तो स्टिकर नेपालमा पहिलोपटक छाप्न लागेको हो ।

विभाग र केन्द्रबीच निरन्तर काम गर्ने गरी सम्झौता भएको छ । सुरक्षाको कारण निजी छापाखानालाई नदिएर जनकलाई जिम्मा दिएको महानिर्देशक कुँवरले बताउनुभयो ।

अरू सामानमा प्रयोग हुने स्टिकर मौज्दात रहे पनि चाँडै खपत हुुने चुरोटको स्टिकर सकिनै लागेकाले तत्काल छाप्न स्वीकृत दिएको कुँवरको भनाइ छ ।

नेपालमा पहिलोपटक छपाइ गर्न लागिएको अन्तःशुल्कको स्टिकर यसअघि लिथोनिया र इन्डोनेसियामा छपाइ गरेर ल्याइएको थियो ।

कोरोना संक्रमणका कारण विदेशमा दिन सम्भव नभएको र जनक शिक्षाले आफ्नो सेक्युरिटी प्रेसमा छपाइ गर्न सक्ने ग्यारेन्टी दिएकाले विभागले पहिलोपटक नेपालमै छपाइ गर्न लागेको हो ।

महानिर्देशक कुँवरले केन्द्रले सुरक्षा मापदण्ड पूरा गरेर छाप्न सक्ने जनाएपछि सोहीअनुसार योजना बनाएर छाप्न दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘यसअघि एसईई, कक्षा ११ र १२, निर्वाचन आयोगको मतपत्रलगायत अति महत्वपूर्ण र गोप्य सामग्री छापिसकेको अनुभवले गर्दा पहिलोपटक केन्द्रलाई स्टिकर छाप्न अनुमति दिएका हौं ।’

जनकले वर्षभरि स्किटरलगायत अन्य गोप्य सामग्री छपाइ गर्नका लागि थप सेक्टुरिटी प्रेस खरिद गर्न बजेट विनियोजन गरेको छ ।

‘चालू आबमा सेक्युरिटी प्रेस खरिद गर्न २५ करोड बजेट विनियोजन गरेका हौं।’ –केन्द्रका प्रवक्ता आचार्यले भन्नुभयो । विभागले पहिलो कामको मूल्याङ्कनलगत्तै अन्य काम दिने भएपछि थप प्रेस खरिद गर्न लागेका आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्