सिद्धार्थ राजमार्ग विस्तारबारे जनप्रतिनिधिहरुसँग छलफल



काठमाडाैँ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । सो राजमार्ग विस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालले जिल्लाका जनप्रतिनिधिसँग आज मन्त्रालयमा छलफल गर्नुभएको हो ।

उचित जनगुनासा तथा राजमार्गका कारण जनताले पटकपटक बेहोर्नुपरेको क्षति सम्बोधन गर्नुपर्ने मन्त्री अर्यालले सो छलफलमा बताउनुभयो । ‘‘ सिद्धार्थ राजमार्ग अत्यन्तै महत्वपूर्ण छ, यससँग विकासका कुराहरु जोडिएका छन्,’’ मन्त्री अर्यालले भन्नुभयो, ‘‘ सडक विस्तारका क्रममा जनताले असजिलो भोग्नुपरेका गुनासा पनि आइरहेका छन् । पटक–पटक जनता मर्कामा पर्ने कुरालाई पनि सम्बोधन गर्दै राजमार्गको विस्तार कार्य सम्पन्न गर्नुपर्छ । ’’

सडक विभागका महानिर्देशक केशव शर्माले कतिपय विषयमा स्थानीय तहले पनि आफ्नो योजना बनाएर काम गर्नसक्ने बताउनुभयो । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले सिद्धार्थ राजमार्गका जनताले सबैभन्दा छिटो समाधान खोजेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्