एसिडको पीडामा रोजगारीको मल्हम



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडाकी एसिडपीडित युवती बिन्दाबासिनी कंसाकारले आफूलाई पीडा परेको करिब ७ वर्षपछि निजी क्षेत्रमा रोजगारी पाउनुभएको छ ।

उहाँले हेटौंडास्थित कुमारी बैंकमा रोजगारी पाए लगत्तै सोमबारबाट काम सुरु गर्नुभएको हो । सेवा प्रवेशपछि उहाँले आफूजस्ता पीडितले रोजगारी पाउँदा जीवनमा कसैको भरपर्नु नपर्ने बताउनुभयो ।

सरकारले एसिडपीडितको पक्षमा कानुन बनाउँदा आफूजस्ता पीडित खुशी भएको उहाँले बताउनुभयो । उहाँले कानुन कार्यान्वयनमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ ।

‘सरकारले बनाएको कानुनले अब सायद कसैलाई एसिड छ्याप्ने सोच नआउला कि,’ -उहाँले भन्नुभयो– ‘एसिड बिक्री गर्न लाइसेन्स हुनुपर्ने कानुन बने पनि हालसम्म खुलारुपमा बिक्री भइरहेको छ ।’ ‘यसअघि सरकारले कडा कानुनको व्यबस्था गरिदिएको भए हामीले पहिले नै न्याय पाइसक्थ्यौं,’ -उहाँको गुनासो छ ।

एसिड आक्रमणमा पर्नुभएकी कंसाकारकै आयोजनामा एसिड प्रहारविरुद्धको हेटौंडामा आयोजित मौन¥यालीमा काठमाडौंबाट आएका एसिडपीडित सीमा बस्नेत, संगीता मगर र कंसाकार हेटौंडाको मुख्य बुद्धचोकमा सरकारले न्याय दिलाउन नसकेको भन्दै भक्कानिएर रुनुभएको दृष्य हेटौंडेलीले बिर्सिएका छैनन् ।

हेटौंडामा चर्चित उक्त एसिड प्रकरणका दुवै अभियुक्त जेलमा छन् । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज बिष्टको एकल इजलासले दुवै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

एसिड प्रकरणमा मुख्य अभियुक्त भारत महारजगञ्ज अमरपूर्वन–६ का राज भनिने दिलीपराज केशरी र उनका सहयोगी मानिएका सञ्जय मण्डललाई भीमफेदी कारागार पठाइएको छ । एसिड प्रहार गरेर फरार भएका भारत महाराजगञ्ज अमरपूर्वन वडा–६ बस्ने केशरी रेडकर्नर नोटिसमा परेका अभियुक्त थिए ।

प्रहरीले केशरीलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३, भलोहीमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको थियो । निरन्तर खटिएको प्रहरी टोली केशरीलाई पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले केशरीलाई पक्राउ गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका ल्याइएको थियो । केशरीलाई सार्वजनिक गर्न प्रहरीले गरेको कार्यक्रममा पीडित कंसाकारले एसिड छ्यापेर भाग्ने केशरीलाई फाँसीको सजाय माग गर्नुभएको थियो । एसिड प्रहार गरेर भाग्नेलाई फाँसी दिन नसके जन्मकैद सजाय दिन उहाँले माग गर्नुभएको थियो ।

एसिड प्रहार गरेर फरार केशरीलाई मकवानपुर प्रहरीले सार्वजनिक गर्दैगर्दा कंसाकारले रिस थाम्न सक्नुभएको थिएन । एसिड आक्रमणका कारण घाइते हुनुभएकी कंसाकारको हालसम्म ८० लाख खर्च भएको बताइएको छ । एसिड प्रहारपछिको अवधिमा विभिन्न अस्पतालमा गरी ८० लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । उहाँको उपचार जारी छ ।

२०७० वैशाख ९ गते विहान करिब ११ बजे हेटौंडा–३ मा रहेको आफ्नै भाँडा पसलमा २१ वर्षकी कंसाकारलाई पसलभित्र बसिरहेको अबस्थामा एसिड प्रहार भएको थियो । करिब २७ वर्षका केशरी उहाँको अनुहारमा एसिड फ्याँकेर फरार भएका थिए ।

सरकारले एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पु¥याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सोमबार उक्त अध्यादेश जारी गर्नुभएको छ ।

एसिड दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भए जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पु¥याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।

मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भए जन्मकैद र घाइते, अंगभंग भए अधिकतम् ८ वर्षसम्म कैद सजाय हुने व्यबस्था छ । एसिड प्रहारसम्बन्धी कसुरमा अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगमा पनि सजाय हुनसक्ने व्यबस्था छ । ज्यान मार्ने उद्योगमा अधिकतम् १० वर्षसम्म कैद सजाय हुने व्यबस्था छ । यी दुवै कानुनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत् एसिडसम्बन्धी छुट्टै कानुन बनाएको हो ।

नयाँ कानुनअनुसार एसिड अपराधीलाईसजाय माफी/मिनाहा नहुने व्यबस्था गरिएको छ । नया“ कानुनमा आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ ।

प्रतिक्रिया दिनुहोस्