रेविजबिरुद्धको साताब्यापी कार्यक्रम



अमृत अर्याल, स्याङजा ।

जिल्लाको वालिङमा रेबिज विरुद्धको साताब्यापी कार्यक्रम आजबाट शुरु भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजना र लियो क्लब अफ वालिङको सहयोगमा ‘रेबिज अन्त्य गरौं सहकार्य गरौं, खोप लगाऔं’ भन्ने नाराका साथ आजबाट अभियान शुरु भएको हो ।

रेबिज विरुद्ध पहिलो पल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ । जसको फलस्वरुप आजबाट आगामी आईतबारसम्म १४ औं विश्व रेबिज दिवस मनाईने भएको हो ।

सप्ताहब्यापी कार्यक्रमको आज शुभारम्भ गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले रेबिज विरुद्धको अभियानमा सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै घरभित्रका वा बाहिरका कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाई सुरक्षित रहन आग्रह गर्नुभयो ।

रेबिज रोग लागिसकेपछि यसको उपचार कठिन तथा बिरामी बच्ने संभावना निक्कै कम हुने भएकाले रोग लाग्नै नदिनका लागि पूर्व सावधानीस्वरुप घरमा पालिएका वा सामुदायका कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन आवश्यक रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

आजबाट शुरु भएको कार्यक्रम एकसातासम्म सञ्चालन हुने भएकाले एकसातासम्म कुकुर बिरालोलाई खोप लगाउन सकिने पशु सेवा शाखा प्रमुख देबकुमारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्