महिलाको मुटु



– प्रा. डा. प्रकाशराज रेग्मी  (मुटुरोग विशेषज्ञ)

आखिर सबैको मुटु एउटै हो । रुप, रंग, काम, रोग, बचाउने उपाय आदि एउटै हुन् । यसकारण धेरैलाई अचम्म लाग्ला– पुरुष र महिलाको मुटुलाई छुट्याएर हेरेको देख्दा । हो, पुरुष र महिलाको मन, स्वभाव, बोली फरक हुन सक्ला तर मुटु नै कसरी फरक हुन सक्ला र ? हामी सबैले आफ्ना आमा–बाबाको मुटुको ढुकढुकी बच्चा हुँदादेखि सुनेको हो । दुवैका ढुकढुकी उस्तै थिए । युवावस्थामा प्रेमी–प्रेमिकाले पनि एक–अर्काको मुटुको ढुकढुकी सुनेको मात्र होइन साटासाट पनि गरेको हो । दुवैले केही फरक पाएको जस्तो लागेन । वृद्धावस्थामा पनि एक–अर्काको सहारा बनेका बूढाबूढीले पनि एक–अर्काको छातीमा मुटुको ढुकढुकी सुनेकै हो । खासै फरक भएजस्तो दुवैलाई लागेन । चित्रकारले महिला र पुरुषको छातीभित्र कोर्ने मुटुको चित्रमा पनि खासै भिन्नता देखिँदैन । यस्तै प्रकारले कवि, लेखकले महिला र पुरुषको मुटुको वर्णन गर्दा भिन्नाभिन्नै प्रकारले गरेको कतै भेटिँदैन । उसो भए महिलाको मुटु भनेर छुट्याउनुपर्ने विषय यो लेखकको कलममा कसरी आयो ?

हो, म भन्छु– महिलाको मुटु पुरुषको भन्दा बेग्लै हुन्छ । मैले मात्र होइन, गहिरिएर पढ्ने हो भने विज्ञानले पनि यसै भन्छ । तपाईंहरुलाई पनि यसबारे जानकारी गराउँदै छु । विज्ञानले महिला र पुरुषको मुटुमा धेरै फरक तथ्यहरु औंल्याएको छ । सबैले बुझ्न सकून् भनी मैले यी तथ्यहरुलाई पाँचवटा समूहमा बाँडेको छु ।

विज्ञानले महिला र पुरुषको मुटुमा धेरै फरक तथ्यहरु औंल्याएको छ । सबैले बुझ्न सकून् भनी मैले यी तथ्यहरुलाई पाँचवटा समूहमा बाँडेको छु ।

महिला र पुरुषको शरीरमा फरक–फरक हर्मोनहरु उत्पादन हुन्छन् । यिनलाई ‘सेक्स हर्मोन’ भनिन्छ । पुरुषको ‘सेक्स हर्मोन’ को नाम ‘टेस्टोस्टेरोन’ हो भने महिलाको ‘एस्ट्रोजेन’ । यिनै ‘सेक्स हर्मोन’ का कारणले महिला र पुरुषको शरीरलाई फरक बनाइदिन्छ । महिलाको शरीर र पुरुषको शरीर बाहिरबाट हेर्दा भिन्न हुन्छ । तर पनि आँखा नदेख्नेले छामेर छुट्याउन सक्छ र बोली सुनेर पनि छुट्याउन सक्छ । यस्तै प्रकारले महिला र पुरुषको मुटुमा पनि यी ‘सेक्स हर्मोन’ को प्रभावमा भिन्नाभिन्नै विशेषताहरु विकास भएका छन् । मुटु शरीरभित्र बस्ने भएको हुनाले हामीले देख्न सक्दैनौं । यसकारण यसबारे हामीलाई जानकारी नभएको हो । अब लागौं पुरुष र महिलाबीचको मुख्य पाँचवटा फरक तथ्यहरुतर्फ । यी कुराहरु वयष्क भैसकेको शरीर (उमेर १८ वर्षमाथि) का लागि हो भन्ने बुझौं ।

पहिलो : महिलाको मुटुको तौल पुरुषको तुलनामा ५० देखि १०० ग्रामसम्म कम हुन्छ । मानव मुटुको तौल २५० देखि ३५० ग्रामसम्म हुन्छ । एउटै उमेरका वयष्क पुरुष र महिलाको मुटुको तौल तुलना गर्दा वैज्ञानिकहरुले महिलाको मुटुको तौल पुरुषको भन्दा कम भएको तथ्य फेला पारेका छन् ।

दोस्रो : दोस्रो फरक हृदयको गतिमा छ । सामान्यतया मानव मुटु एक मिनेटमा ६० देखि १०० पल्टसम्म ढुकढुक गर्छ । पुरुषको तुलनामा महिलाको हृदयगति बढी हुन्छ । साधारण अवस्थामा पुरुषको हृदयगति एक मिनेटमा ७० छ भने महिलाको ७८ हुने उल्लेख गरिएको छ । हृदयगतिका साथै मुटुको पम्प गर्ने शक्ति पनि पुरुषको भन्दा महिलाको बढी छ । पुरुषको तुलनामा महिलाको मुटु सानो भएको कारणले यसले अलि छिटो र बढी जोडले रगत पम्प गर्नुपर्ने हुन्छ । यसप्रकार छिटो र जोडदार हृदयगतिले महिलाको शरीरमा रक्तसञ्चालनलाई सन्तुलित राख्दछ ।

तेस्रो : महिलाको मुटुका मांसपेशी र रक्तनलीहरु पुरुषको तुलनामा धेरै नै नरम हुन्छन् । जसरी महिलाको शरीर पुरुषको भन्दा कोमल र नरम हुन्छ, यस्तै प्रकारले महिलाको मुटु पनि कोमल र नरम हुन्छ । यसै कारणले गर्दा मुटुलाई दबाब पर्दा पुरुषको भन्दा महिलाको मुटुले बढी प्रतिक्रिया देखाउँछ र चाँडै थाक्छ पनि ।

चौथो : चौथो भिन्नताबारे कसैले अनुमानसमेत लगाउन सक्दैन । यो अत्यन्तै विचित्र र रोचक छ । धेरै डाक्टरलाई समेत यसबारे थाहा हुँदैन । महिलाको मुटुको स्थान छातीभित्र पुरुषको तुलनामा केही तल झरेर बसेको हुन्छ । यो हुनाको कारण महिलाको शारीरिक बनावट हो । महिलाको छाती सानो र हिप ठूलो हुन्छ । पुरुषको छाती ठूलो र हिप सानो हुन्छ । महिलामा छाती सानो र हिप ठूलो भएकै कारण मुटु हिपतर्फ बढी मात्रामा तानिएको हुन्छ । यसै कारणले गर्दा महिलालाई मुटुरोग लाग्दा यसका लक्षणहरु धेरैजसो पेटको माथिल्लो भागमा देखा पर्दछन् । पुरुषमा भने मुटुरोगका लक्षण धेरैजसो छातीको मध्यभागमा देखिन्छ । अब पुरुषले आफ्नो श्रीमतीको मुटु छातीको मध्यभागभन्दा अलि तल खोज्नुहोला । अनि महिलाहरुले आफ्नो श्रीमान्को मुटु छातीको मध्यभागमा खोज्नुहोला । अरु ठाउँमा खोज्नुभयो भने मुटुको सट्टा अर्कै अङ्ग हात लाग्छ ।

पाँचौँ : पुरुषको तुलनामा महिलामा मुटुरोग कडारुपमा प्रस्तुत हुन्छ । मुटुरोग लागिहाल्यो भने पुरुषलाई भन्दा महिलालाई यसले चाँडै ढाल्छ । बाथ–मुटुरोगबाट पुरुषको भन्दा महिलाको मुटु धेरै बिग्रिन्छ । उच्च रक्तचापले महिलाकै मुटुलाई बढी असर गर्छ । हृदयघात हुँदा महिलाको मर्ने सम्भावना पुरुषलाई भन्दा बढी हुन्छ । उच्च रक्तचाप पुरुषभन्दा महिलालाई कम उमेरमा लाग्छ । साथै यो छिटो र कडारुपमा बढ्दै जान्छ । उच्च रक्तचापका जटिलताहरु जस्तै– मस्तिष्कघात, हृदयघात, अन्धोपन, मृगौलाघात आदि पनि पुरुषभन्दा महिलालाई नै बढी भएको पाइन्छ । मुटुरोगका लक्षणहरु पनि पुरुषभन्दा महिलामा फरक छन् । हृदयघात हुँदा महिलाहरुमा ग्यास्ट्रिकका लक्षणहरु जस्तै– माथिल्लो पेट दुख्ने, छाती पोल्ने, वाकवाकी लाग्ने बढी हुन्छ, छाती दुख्ने केही कम हुन्छ । पुरुषमा भने छातीको मध्यभागमा असह्य पीडा हुने लक्षण बढी देखिन्छ ।

फिमेल सेक्स हर्मोनले महिलाको मुटुलाई एकातर्फबाट कमलो बनाएर रोगले चाँडै ढाल्ने बनाएको छ भने अर्कोतर्फबाट कोरोनरी मुटुको रोग लाग्नबाट पुरुषको तुलनामा बढी सुरक्षा पनि प्रदान गरेको छ । ‘मेनोपज’ हुनुभन्दा अगाडि महिलालाई पुरुषको तुलनामा कोरोनरी मुटुको रोग लाग्ने सम्भावना ३० प्रतिशतले कम हुन्छ । महिलाको ‘एस्ट्रोजेन’ हर्मोनले खराब कोलेस्ट्रोललाई घटाउँछ,

असल कोलेस्ट्रोललाई बढाउँछ, रक्तनलीलाई साँगुरिनबाट बचाउँछ । यसले गर्दा ४५ वर्षभन्दा कम उमेरमा पुरुषलाई भन्दा महिलालाई हृदयघात हुने सम्भावना कम हुन्छ । तर हृदयघात भैहाल्यो भने यो उमेर समूहका महिलाको मृत्यु हुने सम्भावना पुरुषको भन्दा बढी हुन्छ ।

यी सबै तथ्यहरुलाई केलाएर हेर्दा मुटुका हिसाबले महिला र पुरुषलाई केही भिन्न दृष्टिकोणले हेर्नुपर्ने हुन्छ । मुटु र यसका रोगहरुका सम्बन्धमा महिलाहरुलाई सचेत गराउने वैज्ञानिक अवधारणाहरु यस प्रकार छन् :

१. पुरुषको तुलनामा महिलाको मुटुको तौल केही कम छ तर हृदयको गति भने बढी छ र पम्प पनि बढी ऊर्जा खर्च हुने किसिमको जोडदार छ । यसकारण महिलाहरुले सानैदेखि मुटुको फिट्नेसतर्फ ध्यान दिनुपर्छ । यसका लागि उचित व्यायाम सबैभन्दा उत्तम उपाय हो ।

२. महिलाको मुटुको मांसपेशी कमलो छ । यसकारण मुटुरोग लागिहाल्यो भने पुरुषको तुलनामा महिलालाई बढी खतरा छ । महिलाको मुटु चाँडै थाक्छ र सानो धक्काले पनि बढी जटिलता उत्पन्न गराउन सक्छ । मुटुरोगका कारण पुरुषभन्दा महिलाको मृत्यु हुने सम्भावना बढी छ । यसकारण महिलाहरुले मुटुरोग लाग्दा यसको उपचारमा ढिलाइ गर्नुहुँदैन । औषधि उपचार पनि गुणस्तरयुक्त हुनु आवश्यक छ ।

३. महिलालाई हृदयघात हुँदा पुरुषमा भन्दा अलि बेग्लै लक्षणहरु देखिन्छन् । सबैले सुन्दै आएको छातीको बीचमा दुख्ने लक्षण महिलालाई कम देखिन्छ । यसको सट्टा ग्यास्ट्रिकका लक्षणहरु बढी देखिन्छन् । यसकारण महिलाहरुले ग्यास्ट्रिकको कडा खाले लक्षणहरु देखिएमा पनि हृदयघातको शंका गरी एकपल्ट मुटुको परीक्षण गराउनुपर्छ ।

४. फिमेल सेक्स हर्मोनका कारण महिलाहरुलाई ४५ वर्षभन्दा कम उमेरमा हृदयघात हुने सम्भावना कम हुन्छ । तर अस्वस्थ जीवनशैली (धुम्रपान, मद्यपान, पत्रु–खाना, व्यायामको कमी, मानसिक तनाव आदि) का कारण महिलाहरुमा कम उमेरमै हृदयघात हुने सम्भावना हिजोआज बढेको स्थिति छ । यसकारण महिलाहरुले स्वस्थ जीवनशैली अपनाउनेतर्फ विशेष ध्यान दिनुपर्दछ ।

५. अहिले पाठेघर र स्तनको क्यान्सरका कारणले भन्दा मुटुरोगका कारणले पाँच गुणा बढी संख्यामा महिलाहरुको मृत्यु भैराखेको स्थिति छ । यसकारण महिलाहरु मुटुस्वास्थ्यतर्फ पनि चनाखो हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्