प्राकृतिक विपत्तिका कारण सास्ती बेहोर्दै पाल्पाली



कविराज नेपाल, पाल्पा । 

अघिल्लो हप्ताको पहिरोले ६ जनाको ज्यान त लियो नै यसबाहेक पनि पाल्पालीलाई अत्यावश्यक बिजुलीबत्ती, यातायात र इन्टरनेटलगायतले पनि साथ दिएन ।

पहिरोका कारण बिहीबार रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा एकै परिवारका ५ सहित ६ जनाको मृत्यु हुन पुग्यो । पहिरोका कारण एउटै वडाका तीनवटा घर पुरिएका थिए । जसमा फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा, मनबहादुर गाहा र सुरुङडाँडाका वीरबहादुर गाहाको घर पहिरोले पुरिएको थियो । जसमा एक जनाको शव बिहीबार र बाँकीको शुक्रबार तथा शनिबार बल्लतल्ल निकालेर सतगत गरिएको थियो ।

त्यस्तै, वर्षासँगै सिद्धार्थ राजमार्गको ठाउँ–ठाउँमा पहिरो गएका कारण लामो समय सडक सञ्जाल अवरुद्ध बन्यो । बल्लतल्ल एकातर्फीरूपमा आइतबार दिउँसो ३ बजेदेखि पहिरो हटाइ सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक अवरुद्ध हुँदा यही बाटो भएर यात्रा गर्ने पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बाग्लुङ, पर्वतसम्मका यात्रुले सास्ती बेहोरे ।

त्यसै गरी, पाल्पामा विद्युत् बुटवलबाट आउने हुँदा लामो समय विद्युत् सुचारु हुन पाएन । रिडीतिरको लाइनबाट आलोपालो गरी विद्युत् वितरण गर्न बाध्य भएको नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण शाखाले सूचना निकालेर जनाएको छ । झुम्सा वरिपरिको क्षेत्रमा विद्युत्का पोल, तारलगायतमा क्षति पुगेकाले पहिले जस्तै बनाउन केही समय लाग्ने कार्यालयले सूचना मार्फत भनेको छ । सदरमुकामै तीन दिनदेखि अन्धकार छ ।

उता पहिरोकै कारण पाल्पामा इन्टरनेट सेवा पनि अवरुद्ध हुन पुग्यो । .शुक्रबार राति परेको अविरल वर्षाका कारण तिनाउ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोले अप्टिकल फाइवरमा क्षति पुग्न गएकाले जिल्लाको इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमले बतायो । .

। विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । यसले अनलाइन पढाइमा समेत बाधा पुगेको जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्