मसला उद्योगलाई २ लाख जरिवाना



विराटनगर, (नेस) ।

वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले विराटनगर महानगरपालिका–१० शान्ति टोलको बीकेएम मसला उद्योगलाई २ लाख रुपियाँ जरिवाना गरेको छ । अत्यधिक मूल्यवृद्धि गरी मसला बेचेकाले उक्त उद्योगलाई कारबाही गरिएको हो ।

जनगुनासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपियाँ प्रतिकिलो पर्ने गरम मसलाको मूल्य १ हजार २ सय रुपियाँमा बिक्री भइरहेको पाइएपछि वाणिज्य कार्यालयको अनुगमन टोलीले जरिवाना तोकेको वाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताउनुभयो । लकडाउनको बहानामा विराटनगरका बजारमा तरकारी, खाद्यन्नलगायतको मूल्यमा वृद्धि भएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई तीव्रता दिएको छ । गरम मसलाको मूल्य १ सय ५० प्रतिशतभन्दा बढी वृद्धि गरिएपछि उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार ३० प्रतिशतभन्दा बढी मूल्य लिएमा २ लाखदेखि ३ लाख रुपियासम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ ।

कार्यालयले त्यही प्रावधानमा टेकेर पहिलोपटक भएकाले २ लाख रुपियाँ जरिवाना तोकिएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख पोखरेलको कथन छ ।

संयुक्त अनुगमन टोलीमा वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्