पहिरोपीडितलाई रेडक्रसको सहयोग



नेपाल समाचारपत्र, स्याङ्जा ।

वालिङ नगरपालिका–१४ तमादीका पहिरोपीडितलाई नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले अत्यावश्यक सामग्री दिएको छ । बिहीबार पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएकै ठाउँमा फेरि पहिरो जाँदा पुरिएका दुई घरका चार परिवारलाई रेडक्रसले सहयोग गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले उपलब्ध गराएको सामग्री वालिङस्थित रेडक्रस सोसाइटीहरूको पहलमा पहिरो प्रभावितलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी पेखुबाघखोरका सभापति विष्णुप्रताप खाँणले बताउनुभयो । पहिरो प्रभावित गाउँमै पुगेर रेडक्रसले लत्ताकपडा, त्रिपाल, भाँडावर्तन, कम्मललगायत सामग्री वितरण गरेको उहाँले कथन छ ।

सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले पहिरोका कारण ठूलो मानवीय क्षति भएकोप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार खर्च नगरपालिकाले बेहोर्ने बताउनुभयो । साथै विस्थापित परिवारका लागि नगरपालिकाले आवश्यक सहयोग तथा व्यवस्थापन गर्ने उहाँको भनाइ छ ।

त्यसै गरी, केयर नेपाल र दियालो गैरसरकारी संस्थाले वालिङ नगरपालिकालाई आपत्कालीन सामग्री हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका कार्यालयमा दियालो गैरसरकारी संस्थाका अध्यक्ष कविता गैह्रेले नगर प्रमुख दिलीपप्रताप खाँणलाई आपत्कालीन सामग्री प्रदान गर्नुभएको हो ।

अविरल वर्षासँगै आएको पहिरोले ज्यान गुमाएका परिवार, विस्थापित परिवार तथा नगरका विभिन्न वडामा प्राकृतिक विपत्तिमा परेकालाई नगरपालिकामार्फत उपलब्ध गराउने उद्देश्यले आपत्कालीन सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष गैह्रेले बताउनुभयो । केयर नेपालद्वारा बेसिक सेल्टर किटस् ५० थान, ब्ल्याङ्केट १ सय थान, डिग्निटी किट्स ५० थान र हाइजिन किट्स ५० थान उपलब्ध गराएको छ ।

आपत्कालीन सामग्री ग्रहण गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले आपत्कालीन सामग्री उपलब्ध गराएकोमा सहयोगी दाताप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्राप्त सामग्री वास्तविक प्रभावितमाझ पु¥याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्