मृतकमा कोरोना भटिँदा विद्यालय पुनः बन्द



बिनोदसिंह विष्ट, बैतडी ।

मृतक पुर्चौडी–३ का २९ वर्षीय युवकमा कोरोना पुष्टि भएपछि नगरपालिकाले नगर सिल गर्दा विद्यालयहरू पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए ।

विद्यालय आइतबारदेखि पुनः बन्द भएका पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले बताउनुभयो । ‘नगरपालिकाले अनिश्चित्कालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द गरेका हौं ।’ –उहाँले भन्नुभयो । पढाइ भइरहेका विद्यालय नगरपालिकाले सूचना निकालेलगत्तै बन्द भएका थिए । पुर्चौडी नगरपालिका–३ का २९ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु हुनुका साथै अन्य ८ जना नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको नगरपालका प्रमुख जानकी ऐर (बम) ले बताउनुभयो ।

शिक्षण सिकाइ सहजीकरण निर्देशिका–२०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका थिए । ‘लामो समयपछि विद्यालय सञ्चालनमा आउँदा पठनपाठनमा सहजता आएको थियो, फेरि बन्द भएको छ, अब कहिले खुल्ने हो, विद्यार्थीको भविष्य अनिश्चित भयो ।’ –लामो सुस्केरा हाल्दै स्थानीय अभिभावक अनिरुद्र जोशीले भन्नुभयो ।

लामो समयपछि विद्यालयमा पठनपाठन हुँदा विद्यार्थी निकै खुसी भएका भए पनि बन्द हुँदा निरास भएका दशरथ आधारभूत विद्यालय ऐरीगाउँका शिक्षक अम्मर ऐरले बताउनुभयो ।

पुर्चौडीमा नगरपालिकाका ७५ ओटा सामुदायिक विद्यालयमध्ये ३९ वटामा क्वारेन्टाइन र आइसोलेसन राखिएका छन् । नगरका ७५ सामुदायिक र ३ संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत थिए ।

नगरपालिका सिल

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका आइतबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर (बम) को अध्यक्षतामा बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहने र आवत–जावतमा पनि पूर्णरूपमा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले बताउनुभयो । भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए । मृत भेट्टिएका ती पुरुषको शनिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको आकस्मिक बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गरेर स्वाब संकलन गर्ने निर्णय पनि गरेको छ ।

६ दिनअघि बैंग्लोरबाट हिँडेका ती पुरुष बिहीबार कैलालीको गौरीफण्टा नाकाबाट नेपाल भित्रिएका प्रहरीले बताइएको छ । गौरीफण्टादेखि मृत भेट्टिएको स्थानका सम्म ती पुरुषको सम्पर्कमा आएका र उनी चढेर आएका सवारीसाधनका स्टाफ र यात्रुहरूको पनि कोरोना परीक्षण गरिने स्वास्थ्य संयोजक हेमराज भट्टले बताउनुभयो ।

मृत भेटिएका व्यक्तिमा कोरोना पुष्टि हुँदा गाउँमा त्रास फैलिएको स्थानीय नरेश गडाल बताउनुहुन्छ ।

पुर्चौडीमा अहिलेसम्म २० जनामा संक्रमण पुष्टि हुँदा ८ जना अझै सक्रिय संक्रमित रहेका छन् । बैतडीमा हालसम्म ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २५ जनामात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्