रियलको संघर्षपूर्ण जित



 

लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा फुटबलका महारथी क्लब रियल मेड्रिडले संघर्षपूर्ण जितको नतिजा निकालेको छ।
शनिबार राति भएको खेलमा रियल मेड्रिडले रियल बेटिसलाई उसैको घरेलु मैदानमा ३–२ गोलअन्तरले पराजित गरेको हो। खेलको ६७औं मिनेटमा १० खेलाडीमा झरेको घरेलु टोली बेटिसमाथि जित निकाल्न रियलले एक आत्मघाती उपहार पाएको थियो भने विजयी गोल पेनाल्टीमार्फत गरेको थियो।
खेलको ८२औं मिनेटमा डिबक्समा बेटिसका खेलाडीको हातले बल छोएपछि रेफ्रीले भिएआरको सहायताले रियललाई पेनाल्टी हान्ने अवसर दिए। जसमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई लिगको दोस्रो खेलमा ३–२ को कठिन जित दिलाए।
त्यसअघि रियलले खेलको १४औं मिनेटमा फेडरिको भाल्भर्डेको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि खेलको ३५औं मिनेटमा बेटिसका आइसा मन्डीले गोल गर्दै खेल १–१ को बराबरी ल्याएका थिए।
बेटिसले बराबरी गोल गरेको दुई मिनेटमै अर्को गोल थप्यो। विलियम कार्भाल्होले लामो दूरीबाट गरेको कडा प्रहार गोलमा परिणत भएपछि घरेलु टोलीले २–१ को अग्रता लिएको थियो। तर, दोस्रो हाफ शुरू भएको तीन मिनेटमै रियलले आत्मघाती गोल उपहार पायो। खेलको ४८औं मिनेटमा इमर्सनले आफ्नै पोस्टमा गोल गरेपछि खेल २–२ को स्थितिमा पुगेको थियो। खेलको ६७औं मिनेटमा आत्मघाती गोलकर्ता इमर्सनले रातो कार्ड खाँदै मैदान छाडेपछि बेटिस १० खेलमा समेटिएको थियो।
पाहुना टोली रियलले ८२औं मिनेटमा पेनाल्टी पायो। बक्सभित्र रियलका खेलाडी बोर्जा मायोराललाई रोक्ने क्रममा बेटिसका खेलाडीले बल ह्यान्ड गरेपछि रेफ्रीले भिएआरमार्फत रियललाई पेनाल्टीको अवसर दिए। जसमा कप्तान रामोसले गोल गर्दै खेललाई ३–२ को जित दिलाए। जितपछि रियलले शुरुआतका दुई म्याच खेल्दा एकमा हार एकमा जितको नतिजा निकाल्दै ३ अंक जोडेको छ। यता पराजित बेटिसले भने अघिल्ला दुई खेल जितेर ६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्