लीड्सद्वारा दोस्रो जित दर्ता



लन्डन, (एजेन्सी)
करिब १६ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको टोली लीड्स युनाइटेडले जारी इंग्लिस प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ । आइतबार भएको योर्कसायर डार्बी खेलमा लीड्स युनाइटेडले सेफिल्ड युनाइटेडलाई १–० गोलअन्तरले हराएको हो। खेल बराबरीतर्फ अग्रसर भएको अवस्थामा प्याट्रिक बामफोर्डले निर्णायक गोल गरेका थिए। उनले ८८औं मिनेटमा ज्याक हेरिसनको क्रसमा गोलको दिशा दिएका थिए।
यो नतिजापछि अंक तालिकामा लीड्सले ३ खेलबाट ६ अंक जोडेको छ। सेफिल्डको भने यो लगातार तेस्रो हार हो। लीड्सले यसअघि पहिलो खेलमा लिभरपुलसँग ४–३ को हार व्यहोरेको थियो। दोस्रो खेलमा भने लीड्सले फुलहामलाई ४–३ ले हराएको हो।
चेल्सीले अंक बाँड्यो
प्रिमियर लिगमा चेल्सीले नव प्रवेशी टोली वेस्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाँडेको छ। शनिबार भएको खेलमा चेल्सीले वेस्ट ब्रोमसँग नाटकीयरूपमा ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। पहिलो हाफसम्म ३–० ले पछि परेको अवस्थालाई पन्छाएर चेल्सीले बराबरीको नतिजा निकाल्न सफल भएको हो।
खेलको पहिलो हाफमै वेस्ट ब्रोमका लागि कालुम रोबर्ट्सनले दुई र काइल बर्ट्लीले एक गोल गरेका थिए। यता, दोस्रो हाफमा भने चेल्सीका लागि मेसन माउन्ट, हड्सन ओडोइ र ट्यामी अब्राहमले गोल फर्र्काए।
खेलको चौथो मिनेटमा नै चेल्सीले गोल व्यहोरेको थियो। डिफेन्डर मार्कोस अलोन्सोको गल्तीको फाइदा उठाउँदै वेस्ट ब्रोमका लागि पहिलो गोल कालुन रोबर्ट्सनले गरेका थिए।
खेलको २५औं मिनेटमा चेल्सीले दोस्रो गोल व्यहो¥यो। यसपटक पनि डिफेन्डर थियागो सिल्भाको गल्तीको फाइदा उठाउँदै रोबर्ट्सनले नै गोल गरेका थिए। त्यसको दुई मिनेट पनि बित्न नपाउँदै २७औं मिनेटमा वेस्ट ब्रोमका लागि काइल बार्ट्लीले तेस्रो गोल गरे।
यता चेल्सीले खेलको ५५औं मिनेटमा मेसन माउन्टको लामो दूरीको प्रहारले जाली चुम्न सफल भएको थियो। चेल्सीका लागि दोस्रो गोल हड्सन ओडोइले गरेका थिए। उनले ७०औं मिनेटमा काइ ह्वाभर्ट्जको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गरेका गरेका हुन्।
चेल्सीका लागि तेस्रो तथा बराबरी गोल ट्यामी अब्राहमले ९० मिनेट पछि थपिएको इन्जुरी समयमा गरेका थिए। वेस्ट ब्रोमसँग संघर्षपूर्ण बराबरीको नतिजा निकालेको चेल्सीले तीन खेलमध्ये एकमा जित एकमा हार र एकमा बराबरी खेलेको छ। वेस्ट ब्रोमले भने दुई खेलमा हार र एक खेलमा बराबरी खेलेको छ।
एभर्टनको तेस्रो जित
एभर्टनले पनि जारी प्रिमियर लिगमा आफ्नो सानदार प्रदर्शनलाई निरन्तरता दिँदै लगातार तेस्रो जित हात पारेको छ। विवादास्पद पेनाल्टीमा गोल गरेपछि एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित ग¥यो।
लुकास डिनेको हेड बल प्यालेसका डिफेन्डर जोल वार्डको हातमा लागेको भन्दै पेनाल्टी दिइएपछि एभर्टनले निर्णायक गोल गरेका थिए । खेलको ४०औं मिनेटमा रिचार्लिसनले उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। त्यसअघि खेलको १०औं मिनेटमै डोमिनिक क्याल्भर्ट–लेबिनले एभर्टनलाई अग्रता दिलाएका थिए।
क्याल्भर्ट–लेबिनले जेम्स रोड्रिगेज र सिमस कोलम्यानको टिम मुभबाट उपलब्ध पासमा उक्त गोल गरेका थिए। खेलको २६औं मिनेटमा आन्द्रोस टाउनसेन्डको कर्नरमा हेडमार्फत गोल गर्दै चेखु कुयाटेले प्यालेसका लागि बराबरी गोल फर्काएका थिए।
एभर्टनले यसअघि आफ्नो पहिलो दुई घरेलु मैदानमा भएको खेलमा टोटेनह्याम हटस्पर र वेस्ट ब्रोमबीच आल्बियनलाई हराएको थियो। साउथह्याम्प्टन र म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाएको प्यालेसले भने पहिलो पराजय भोगेको हो।

प्रतिक्रिया दिनुहोस्