आँखुखोला जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन



नेपाल समाचारपत्र, काठमाडौं

प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५ दशमलव ४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

आयोजनाको कुल लागत ४ अर्ब ५६ करोडको सो आयोजनामा ७५ प्रतिशत अर्थात् ३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चयकोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावरद्वारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकले १ अर्ब ८२ करोड, कर्मचारी सञ्चयकोषले ८५ करोड र कृषिविकास बैंकले ७५ करोड रुपियाँ ऋण लगानी गर्ने सो आयोजनामा कुल लागतको २५ प्रतिशत अर्थात् १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पुँजीमार्फत जुटाउनेछ ।

ऋण सम्झौतामा सहवित्तीयकरण नेतृत्व गर्ने प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डेय, कर्मचारी सञ्चय कोषका ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका कर्जा लगानी शाखा प्रमुख मीनराज पोखरेल र गोरक्ष हाइड्रोपावरका प्रबन्ध सञ्चालक रघुनाथ पुरीले हस्ताक्षर गर्नुभएको छ ।

धादिङको रुबी भ्याली गाउँपालिकामा निर्माणाधीन सो आयोजनाबाट सुख्खायाममा ४१ दशमलव ६३ गिगावाट आवर र वर्षायाममा ९६ दशमलव ६३ गिगावाट आवर गरी कुल वार्षिक १३८ दशमलव २६ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग टेक अर पेको आधारमा विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न गरिसकेको छ ।

विद्युत्मा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथ दिँदै विद्युत् तथा ऊर्जा विकासजस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैंकको लक्ष्यबमोजिम बैंकले देशभर हालसम्म विभिन्न ४० भन्दा बढी विद्युत् आयोजनामा लगानी गरिसकेको प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्