आकाशको फिल्मबाट फर्कंदै शिव



कोरोना संक्रमणको जोखिमका कारण ७ महिनादेखि फिल्मको निर्माणदेखि प्रदर्शनसम्म रोकिएको छ। अहिले सबै क्षेत्र खुलेकाले फिल्मको सुटिङ र प्रदर्शन कार्य पनि सुचारु गरिनुपर्ने माग उठेको छ। नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित संघ–संस्थाले सीसीएमसी बोर्डमै पुगेर फिल्मको सुटिङ, सिनेमा घरलगायत खोल्नुपर्ने माग गरेका छन्। तर, सीसीएमसीले यसबारे निर्णय गरिसकेको छैन।

यस्तै परिस्थितिमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म निर्माणको घोषणा गरेका छन्। उनले शिव श्रेष्ठ, सौगात मल्ल, रवीन्द्र झा, सुनील कटुवाललगायतका कलाकारका साथमा आफू पनि पर्दामा देखिने गरी फिल्म निर्माणको घोषणा गरका हुन्। ‘अहिले चुप लागेर मात्र बसेर हुँदैन, काम पनि गर्नुपर्छ।

यही फिल्म क्षेत्रबाट लिएर यो क्षेत्रलाई आपत् परेको बेला केही न केही त गर्नै पर्छ भनेर तिहारपछि सुटिङ गर्ने गरी फिल्म निर्माण गर्ने तयारी गरेको हुँ’, आकाशले नेपाल समाचारपत्रसँग भने– ‘स्क्रिप्ट फाइनल टच गर्दै छु। त्यसैले हिरोइन फाइनल गर्न सकेको छैन भने दर्ता नभइसकेकाले फिल्मको नाम पनि बाहिर ल्याएको छैन।’

आकाशले आफ्नै होम प्रोडक्सन द स्काई मुभिजको ब्यानरमा सस्पेन्स थ्रिलर कथामा फिल्म निर्माण गर्न लागेका हुन्। आकाशको कथार निर्देशन रहने फिल्ममा नवविजयप्रकाश श्रेष्ठ, विजय उप्रेती, सजल लोप्चनको पटकथा र संवाद, अम्बिका शर्माको गीत, राजनराज शिवाकोटी र शिखर सन्तोषको संगीत, नवराज कृष्ण थापाको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ। आकाशको होम प्रोडक्सनको यो सातौं फिल्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्