कोरोना र नेकपा



नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ– सत्ताधारी नेकपामा पनि भागबण्डाको रस्साकस्सी थपिंदैगएको छ । कोरोना महामारी कहिलेसम्म लम्बिन्छ कुनै पूर्वअनुमान छैन– जस्तो, नेकपाभित्रको कुर्सी पाउने महामारीको अन्त्यका बारेमा पनि भविष्यवाणी गर्नसकिन्न ।

विश्वका विभिन्न देशहरुले कोरोना विरुद्धको भ्याक्सिन परीक्षण गरेपनि प्रयोगमा अझै आएको छैन– नेकपामा एकताका कुरा त गरिन्छ तर प्रयोगमा आएको छैन । कोरोनाको कारण देशको अर्थतन्त्र डामाडोल बनेको छ– नेकपाले हिजो दिएका आश्वासनले मतदाताको मन डामाडोल बनेको छ । सरकारले लकडान खुला गरेसँगै केही चहलपहल बढेपनि कोरोनाको त्रास हटेको छैन– ओली र प्रचण्डबीच सहमति भएपनि विभाजनको त्रास जहाँको त्यहीं छ ।

उपत्यका काठमाडौंमै कोरोना संक्रमितको सख्या वीस हजार नाघेको छ । यो निकै चिन्ताको विषय हो । नागरिकहरु कोरोना भाइरससँग लडिरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भने सत्ताको भागबण्डाको लडाइँमा लागिरहेको छ । विगत चार महिना अघिबाट सुरु भएको आन्तरिक विवाद केही मत्थर भएको भनिए तापनि मन्त्रिमण्डल पुनर्गठनको विषयलाई लिएर पार्टीभित्र पुनः किचलो सुरु भएको छ ।

यति बेला सत्ताको लडाइँ गर्ने हो कि भएको स्रोत र साधनको अधिकतम प्रयोग गरेर नागरिकहरुलाई कोरोना संक्रमण हुनबाट बनाउने हो ? सत्तारुढ दल नेकपाको प्राथमिकता सत्ता हो कि जनता हुन ? नारा र भाषणमा जनतालाई प्राथमिकतामा राख्ने गरेको नेकपाले व्यवहारमा भने नारा लागू गर्न किन सकिरहेको छैन ?

कोरोना संक्रमण नेपालमा भित्रिएपछि सुरु भएको नेकपाभित्रको आन्तरिक किचलोको कारण कोरोना नियन्त्रण र रोकथामको काम छायामा पर्दै आएको छ । कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चार महिनामा अधिकांश समय पार्टीको आन्तरिक विवाद समाधान गर्न केन्द्रित भयो । अहिले पनि मन्त्रिमण्डल पुनर्गठनमा भागवण्डा मिल्न सकिरहेको छैन ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केही दिनयता दिनहुँ छलफल भएपनि सहमति जुट्न सकिरहेको छैन । नेकपा नेतृत्वको सरकारले केही गर्ने आशा र भरोसा गरेर नै गत निर्वाचनमा जनताले झण्डै दुई तिहाई बहुमत दिए । पाँच वर्ष स्थायी सरकार गठन भएको अवस्थामा देशले समृद्धि हासिल गर्ने अपेक्षा गरेका नागरिकहरु निरास ।

निराश यस अर्थमा कि विश्व नै कोरोनासँग लडिरहँदा नेकपाका नेताहरु भने सत्ताको झिटाझम्टीमा लागेका छन् । राजनीतिक दलभित्र विवाद र बहस सामान्य नै मानिन्छ । तर कोरोनाको त्रासमा पनि नेकपाभित्रको विवादले नागरिकहरुलाई नै लज्जित बनाउने काम गरेको छ । कार्यदल गठन गरेर टुंगो लगाएको विवाद अहिले मन्त्रिमण्डल हेरफेरमा सरेको छ ।

नेकपा नेतृत्वको सरकारले आफ्नो प्राथमिकता निर्धारण गर्न नसक्दा नागरिकहरुमा असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । दुई तिहाई बहुमत प्राप्त सरकारलाई मन्त्रिमण्डल हेरफेरमा यति धेरै टाउको दुखाइको विषय बन्नु नै विडम्बना हो । मन्त्रिमण्डल हेरफेर सामान्य विषय भएपनि नेकपाभित्र यो जटिल बन्दै गएको छ । नेकपाको आन्तरिक किचलो र भागवण्डाको लडाइका कारण नागरिकहरु झनै निराश भएका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्