ग्यारेजमा फालिएको चियादानी पाँच लाख डलरमा बिक्री



लन्डन, (एजेन्सी)

बेलायतका एकजना पुरुषले घरायसी प्रयोजनका पुराना सामान राखिएको ग्यारेज सफाइको क्रममा भेटाएको एउटा सानो चियादानी पाँच लाख डलरमा लिलाम भएको छ। नाम नखुलाइएका ती ५१ वर्षीय व्यक्तिले बेलायतको डर्बिसायरको चर्च ग्रेस्लीस्थित निजी ग्यारेजमा राखिएका बाकस सफा गर्ने क्रममा फेला पारेको चियादानी ह्यान्सन्स लिलाम गृहले लिलाम गरेको हो।

ती व्यक्ति भन्छन्– ‘म सानो छँदा मेरी आमाले घरमा यो चियादानी देखाउँथिन्। दोस्रो विश्ययुद्धताका मेरा हजुरबुबा सुदूरपूर्वमा बस्दथे। उनले नै यो चियादानी बेलायत ल्याएको हुनुपर्छ। उनलाई बर्मा स्टार पदकबाट विभूषित गरिएको थियो। मैले झन्डै यसलाई एउटा स्टोरलाई दानस्वरूप दिन लागेको थिएँ। तर, मैले यसबारे छानबिन गर्ने निर्णय गरें। पछि पो यो त १८औं शताब्दीका चिया सम्राट क्वियागलोङको दरबारमा रक्सी राख्न प्रयोग गरिने गरेको थाहा पाइयो।’

ह्यान्सन्सले यस्तै दुईवटा चियादानी चीन र ताइवानका संग्रहालयमा सुरक्षित रहेको जनाएको छ। यो चियादानी बढीमा ५० हजार डलरसम्ममा बिक्री हुने अनुमान गरिएको थियो। ह्यान्सन्सले यो लकडाउनभरिकै ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्