टेक्सासको खानेपानीमा प्राणघातक जीवाणु



ह्युस्टन, (एजेन्सी)
अमेरिकाको टेक्सासको लेक ज्याक्सनका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न आह्वान गरिएको छ। पानीमा प्राणघातक मस्तिष्क खाने माइक्रोव (सूक्ष्म जीवाणु) मिसिएको हुन सक्ने भएकाले यो सल्लाह दिइएको हो। स्थानीय खानेपानी निकायले करिब २७ हजार मानिसको घरमा आफ्नो पानी आपूर्तिमा सम्भावित प्रदूषण हुन सक्ने जनाएको छ।
नाकको माध्यमबाट शरीरमा एमिबा प्रवेश हुँदा मानव शरीरमा संक्रमण हुन्छ। यस्तो अवस्थामा रोगीको ज्यानैसमेत जाने हुन्छ। तर, अमेरिकामा यस्तो संक्रमणको घटना निकै दुर्लभ हुने गरेको छ। सन् २००९ देखि २०१८ बीच जम्मा ३४ वटा यस्ता घटना सार्वजनिक भएका छन्। शुक्रबार राति टेक्सासका आठवटा समुदायलाई शौचालय प्रयोगबाहेक पानीको अन्य प्रयोजन नगर्न निर्देशन दिइएको थियो।
तर, शनिबार लेक ज्याक्सनबाहेक अन्य सम्पूर्ण स्थानमा यो निर्देशन फिर्ता लिइएको थियो। वातावरण गुणस्तरसम्बन्धी टेक्सास आयोगले पानीको नमुना परीक्षणको परिणाम शतप्रतिशत सुरक्षित नआएसम्म लेक ज्याक्सनका बासिन्दालाई पानी प्रयोग गर्न नदिइने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्