सिमा क्षेत्रमा सशस्त्रको एक गुल्मसहित ४ बिओपी स्थापना, सुरक्षा व्यवस्था कडा



किरन धामी, दार्चुला ।

भारत संग सिमानाका जोडिएको दार्चुला जिल्लाका सिमानाकाहरुमा सशस्त्र प्रहरीको एक गुल्म सहित ४ वटा बिओपीहरु स्थापना गरिएको छ । भारतले जिल्लाको ब्याँस गाउँपालिका १ मा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भुमी समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले सिमा क्षेत्रमा निगरानी बढाएको हो ।

सरकारले सिमा रक्षाका लागी मन्त्रिपरिषदको बैठकमा दार्चुलाका आधा दर्जन बढी ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले जिल्लाको ब्याँस गाउँपालिका–१ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरेको छ, भने त्यस बाहेका ४ ठाउँमा बिओपी स्थापना गरेको छ ।

जिल्ला सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बलको गण स्थापना गरी छाङ्गरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति नरेन्द्र बमले जानकारी दिनुभयो । सरकारले निर्णय गरे अनुसार जिल्लाको ब्याँस गाउँपालिका–२ दुम्लिङ, महाकाली नगरपालिका–९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जौलजिवी र लेकम गाउँपालिका–३ लालीमा बिओपी स्थापना गरिएको उहाले बताउनुभयो ।

महाकाली नगरपालिका–९ दत्तुमा एक कार्यक्रमका बिच बिओपीको उद्घाटन गरिएको छ । बिओपीको सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले उद्धघाटन गर्नु भएको उहाले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले सशस्त्र प्रहरी बल, अधिकृत तथा जवानहरु माझ सीमा सुरक्षाको संवेदनशिलताको बारेमा प्रकाश पार्दै ईमान्दार भई देशको सीमा रक्षा गर्न निर्देशन गर्नु भएको छ ।

साथै उहाले आफ्नो कर्तव्य पालनमा अडिग रहि निरन्तर देशको सेवा गर्न समेत निर्देशन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा उपस्थित हुनु भएका महाकाली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरसिंह डागाले सशस्त्र प्रहरीको बिओपी स्थापना हुनुले सीमा अपराध, शान्ति सुरक्षा, अवैध चोरी निकासी न्युनिकरण हुने विस्वास व्यक्त गर्नु भयो । वडा अध्यक्ष डागाले स्थानिय जनता सदैव सशस्त्र प्रहरीलाई सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

दत्तु बिओपीले महाकाली नगरपालिका वडा नम्बर ९ को बेत, उडै, चुच्चै, दत्तु, सकार र धापको सीमा सम्म सिमामा सुरक्षा प्रदान गर्ने गणपति बमले जानकारी दिनुभयो । क्रमिक रुपमा ब्याँस गाउँपालिका–१ मा पर्ने कौवा र तिंकरमा समते सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना गर्ने योजना रहेको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्