खोटाङ कोरोना मुक्त



रामधन राई, खोटाङ ।

कोरोना संक्रमित सवै निको भएपछि खोटाङ कोरोना संक्रमितमुक्त जिल्ला वनेको छ । कोरोना भएको पूष्टि भएपछि उपचारका लागि धरान, बिराटनगर पठाइएका तथा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका २१ जनाले कोरोना जितेसँगै जिल्ला कोरोना संक्रमितमुक्त भएको हो ।

हाल स्थानीय तहमा पिसिआर परीक्षण जारी रहे पनि संक्रमित देखा परेका छैनन् । हालसम्म १ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । हाल उपचारपछि सवै घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६ सय ४० जनाको पिसिआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसमध्ये ७ जना नेपाल प्रहरीका जवान रहेको प्रशासनले जनाएको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ४ जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा १ जना, साकेला गाउँपालिकामा १ सय १२ जनाको पिसिआर परीक्षण गर्दा १ जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा १ जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परिक्षण गर्दा १ जनालाई पोजिटिभ देखिएको थियो ।

१० स्थानीय तहमध्ये हालसम्म खोटेहाङ गाउँपालिका, रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमित फेला परेको छैन । हालसम्म जिल्लामा १ हजार ६ सय ८ जनाको आरडिटि परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रशासनले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्